नीताको ‘ह्रस्व दीर्घ’मा भित्रिए भेट्रान भारतीय भिलेन प्रदीपराज
अभिनेत्री नीता ढुङ्गानाको निजी कम्पनि नीता फिल्मस् को तर्फबाट बन्न लागेको पहिलो फिल्म ‘ह्रस्व दीर्घ’लाई निर्माण टिमले अन्तर्राष्ट्रीय स्तरमा बनाउने घोषणा गरेसँगै विदेशी प्राविधिक र कलाकारहरुलाई जोड्दै लगेको छ । केहि हप्ता पहिले मात्रै बलिउडका सिनेमाटोग्राफर कविरलाललाई अनुबन्ध गरेको निर्माण टिमले हालै भेट्रान भारतीय कलाकारलाई भित्र्याएको छ ।
सोमबार उक्त कम्पनिले दक्षिण भारतीय फिल्मका भेट्रान खलपात्र प्रदीपराज रावतलाई अनुबन्ध गरेको खबर सार्वजनिक गरेको हो । रावत मुख्यतः तामिल र तेलुगु भाषाको फिल्ममा चर्चीत मानिन्छन् । उनले थुप्रै हिन्दी फिल्ममा पनि नेगेटिभ रोलमा काम गरिसकेका छन् ।
रावतले आमिर खानसँग ‘गजिनी’मा एकसाथ काम गरेका थिए । साउथ र हिन्दी दुबै भाषाको ‘गजिनी’का उनै खूंखार भिलेन अब नेपाली फिल्ममा देखिने भएका हुन् । उनले कन्नड भाषाको फिल्महरुमा समेत आफ्नो उपस्थितिलाई प्रमाणित गरिसकेका छन् । ‘ह्रस्व दीर्घ’मा उनि महंगो पारिश्रमिकमा अनुबन्ध भएको बताइएको छ । यद्धपी रकम भने खुलाइएको छैन ।
हाल स्कृप्टको काम भइरहेको भनिएको ‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्दैछन् । यो फिल्ममा मुख्य अभिनेतामा हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गाना हुनेछन् ।