काठमाडौं महानगरको मेयरमा भिड्दैछन् यी तीन कलाकार, कसको प्रभाव कस्तो छ ?
वैकुण्ठराज पराजुली । देशमा स्थानीय निकायको निर्वाचनको सरगर्मी बढ्दो छ । उम्मेद्वारी दर्ताको केहि दिन मात्रै बाँकी रहँदा निर्वाचनको माहोलले देश गर्मिएको छ । कोहि विभिन्न पार्टीबाट त कोहि स्वतन्त्र रूपमा आफ्नो दाबेदारी दर्शाउँदै विभिन्न गाउँ, नगरको नेतृत्वको लागि आकांक्षीहरु दौडधुपमा छन् ।
सर्वाधिक चासोको रुपमा हेरिने देशको राजधानी अवस्थित काठमाडौं महानगरपालिकाको नेतृत्वमा को आउने कुराले यतिबेला चौतर्फी चर्चा पाइरहेको छ । यसअघिको निर्वाचनमा वैकल्पिक शक्तिको रुपमा उदाएका राजनीतिक दलहरु विभाजित भएर यो पटक कमजोर हुँदा मुख्य प्रतिस्पर्धा मुख्य मानिने राजनीतिक दलबीच हुने निश्चित छ । तर तीनै दलहरुलाई टक्कर दिन केहि स्वतन्त्र उम्मेदवारहरु समेत मैदानमा आउँदैछन् ।
चर्चीत र्यापर बालेन शाहले महिनौँ अघिदेखी महानगरको मेयरमा दाबेदारी प्रस्तुत गर्दै प्रचार मात्र अघि बढाएका छैनन्, यतिबेला ठाउँ ठाउँ पुगेर मत माग्नमा व्यस्त छन् । राजनीतिक पार्टीहरु सत्ता र स्वार्थमा लिप्त भएको र महानगरको मुहार फेर्न युवा नेतृत्व आवश्यक भन्दै बालेन स्वतन्त्र प्रचारमा छन् । तर पछिल्लो पटक आयोजीत एक कार्यक्रममा बडीगार्ड सहित देखिएर आलोचित भएका बालेनको चर्चा चुनावको मुखमा आउँदा पछिल्लो समय सेलाइसकेको छ । मुख्यतः राजनीतिक पार्टीको क्रियाकलापबाट आजित स्वतन्त्र र युवाको मत बालेनले पाउने देखिन्छ ।
यस्तै पुर्व मिस नेवा तथा मोडल सुनिता डंगोलले पनि यसअघि नै स्वतन्त्र रूपमा महानगरको मेयर पदमा उठ्ने घोषणा गरिसकेकी छिन् । मुख्यतः नेवार समुदायको बाहुल्यता रहेको महानगरमा युवा उम्मेदवार सुनिताको उपस्थितिले कस-कसलाई अफ्ठ्यारो पार्छ त्यो समयले बताउनेछ । सुनिता मोडलिङसँगै कार्यक्रम होस्ट र नेवारी फिल्ममा समेत सकृय छिन् । सुनिता ‘स्वच्छ, जीवन्त र सांस्कृतिक नगर, व्यवस्थित काठमाडौं महानगर’ नारासहित ८ खम्बे विकास मोडल समेत सार्वजनिक गरेर मैदानमा होमिएकी छिन् ।
यसैबीच शुक्रबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीले पुराना कलाकार मदनदास श्रेष्ठलाई आफ्नो पार्टीको तर्फबाट मेयर उठाउने निर्णय गरेको छ । मदनदास उक्त पार्टीको पहिलो रोजाइमा भने थिएनन् । तर पार्टीले अघि सार्न खोजेका नेताहरुले मेयरमा इच्छा नदेखाएपछि मदनदासले मौका पाएका हुन् । उम्मेदवार तय भएसँगै शुक्रबार साँझ उनले अनामनगरमा पार्टी कार्यकर्ता र निकटस्थहरुलाई भेला गरेर निर्वाचनमा होमिन निर्देशन दिइसकेका छन् ।
मदनदासले मुख्यतः काठमाडौंको २९ र ३० नं वडाको मत राम्रो प्रभावित पार्नेछन् । घट्टेकुलोका रैथाने उनको अनामनगरदेखि घट्टेकुलो, मैतिदेवी एरियामा राम्रो पकड मानिन्छ । त्यसो त अनामनगर घट्टेकुलो काठमाडौं जिल्लाको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १ नं क्षेत्र हो । जहाँबाट कांग्रेस नेता प्रकाशमान सिंह विजयी हुँदै आएका छन् । उता कांग्रेस पार्टीबाट उनै प्रकाशमानकी श्रीमती सृजना सिंह मेयरको उम्मेदवार बन्ने पक्का हुँदा यो क्षेत्रमा बासिन्दा कसको रोजाइमा लाग्छन् त्यो समयले बताउनेछ । तर आफ्नो पकड क्षेत्रबाटै राप्रपाले मदनदासलाई उम्मेदवार बनाउँदा यसको मुख्य घाटा कांग्रेसलाई नै हुने देखिन्छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्देशक सोभित बस्नेतले महानगरको मेयरमा उठ्ने हल्ला फिँजाएर जुम्ला पुगेका छन् । उनले समाचारमा चर्चा कमाएर आफ्नो फिल्मको सुटिङको लागि जुम्ला हानिएका हुन् । अभिनेता भुवन केसी समेत एक दिन समाचारमा काठमाडौंको मेयरको उम्मेदवार बनेर भोलीपल्ट बिदा भइसकेका छन् ।
खासगरी अघिल्लो पटक २०७४ को निर्वाचनमा विवेकशील नेपाली दलको तर्फबाट मेयर पदको उम्मेदवार बनेकी रञ्जु न्यौपाने (रञ्जु दर्शना) ले झण्डै साढे २३ हजार मत ल्याएकी थिइन् भने साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले साढे १८ हजार मत पाएका थिए । दुबै दल एक भएर पुनः विभाजित जस्तै छन् । यो दलले बलियो उम्मेदवार समेत यो पटक उठाउन सकेन भने अघिल्लो पटक भन्दा काठमाडौंमा यो पटक २० हजार ९ सय ३३ मतदाता थपिएका छन् । त्यसैले पनि अघिल्लो पटक रञ्जु दर्शना र किशोर थापाले पाएको मत र नयाँ मतमा कसको पल्लाभारी हुन्छ त्यसले नै काठमाडौं महानगरको जीतहारको अंकगणित निर्माण गर्ने निश्चित छ । अर्कोतर्फ अघिल्लो पटक मेयर जितेको नेकपा एमाले नै विभाजित भइसक्दा उक्त पार्टीबाट उछिट्टिएर समाजवादी बनेको मतले समेत निर्णायक भुमिका खेल्नेछ ।