‘स्टार बन्न फिल्म खेलेको होइन’: अभिनेता कर्मा
अभिनेता कर्मा शाक्यले आफु नेपाली फिल्ममा स्टार बन्न नआएको बताएका छन् । आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘षट्कोण’को बिहिबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कर्माले स्टार बन्ने सपना बोकेर फिल्म नखेलेको बताएका हुन् ।
आफु बिशुद्ध भुईंमा बसेर कलाकारिता गर्ने मान्छे भएको उनले बताए । ‘स्टार बन्ने मेरो इच्छा छैन,तर मेरो रोजाईमा फरक सिनेमा बढि पर्छन्’, उनले भने ।
फिल्मको पत्रकार भेटघाट कार्यक्रममा सिनेमाका मुख्य कलाकार कर्मासँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्री र निर्माता तथा अभिनेता विराज कडरिया उपस्थित थिए ।
कार्यक्रममा बोल्दै निर्देशक मिलनले षट्कोण युवाहरुको टिमले बनाएको साइकोलोजिकल थ्रिलर सिनेमा रहेको बताए । हामी नेपालमा बन्ने अन्य सिनेमाभन्दा केही फरक बनाउने कोशिस गरेका छौं । मेरो सिनेमामा हिरो हिरोइनको फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँही राखेको छु । त्यसैले हामीले नेपालमा केही फरक सिनेमा निर्माण गर्ने प्रयास गरेकाले सवैको साथको खाँचो रहेको उल्लेख गरे ।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको यो फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।