Logo

हलवालाको वदनियतीः नेपाली फिल्मको शो हटाएपछि जंगिए फिल्मकर्मी

दक्षिण भारतीय फिल्मको चेपुवाका बीच प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ४’ले दर्शकको राम्रो साथ पाइरहेको छ । शोज प्राप्त अधिकांश हल हाउसफूलका साथ चलेका छन् । शनिबार पनि बिहिबार र शुक्रबारकै निरन्तरता हलमा देखिएको छ ।

तर फिल्मप्रति दर्शकको क्रेज निरन्तर रहँदा केहि हलहरुले नेपाली फिल्मको शो हटाएर विदेशी फिल्मलाई प्राथमिकता दिएपछि फिल्मकर्मीहरु आक्रोशित बनेका छन् । नेपाल चलचित्र संघका महासचिव समेत रहेका निर्माता कलाकार अशोक शर्माले हल सञ्चालकहरु यसरी नै चल्ने हो भने ‘अब आउन सक्ने आँधीबेरी’को सामना गर्न तयार हुन चेतावनी दिएका छन् ।

त्यसो त चलचित्र वितरक र प्रदर्शकहरुकै छाता संस्था हो चलचित्र संघ । सोहि संस्थाको दोस्रो कार्यकारी पदमा रहेका शर्माले नै यो प्रकारको चेतावनी दिँदा आफ्नै संस्थाको उद्देश्यमा बाँधिएर सदस्यहरु नचलेको स्पष्ट हुन्छ । शर्माले सामाजिक सञ्जालमा ‘ए मेरो हजुर ४ देशैभर हाउसफूल हुँदा हुँदै शुक्रबार काठमाडौंका केहि र बाहिरका केहि हलहरुले शो हटाउनु पर्ने कारण के हो जवाफ छ ती हलसंग ?’ लेखेका छन् ।

‘ए मेरो हजुर ४’को शोज हटाएर विदेशी फिल्म हाल्नु नेपाली फिल्मलाई पेल्ने हल सञ्चालकहरुको वदनiयतपुर्ण व्यवहारको पुरानै निरन्तरता हो, निर्माता रोहित अधिकारीले भने । अधिकारीले हलहरुले नेपाली फिल्मलाई हेपेको प्रति प्रश्न उठाउँदै चलचित्र विकास वोर्डबाट उचित न्यायको माग समेत गरेका छन् । शर्मा र अधिकारीको अभिव्यक्तिमा धेरै फिल्मकर्मीले सहमती जनाएका छन् ।

झृना थापाको निर्देशनमा अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले प्रदर्शनको पहिलो दिन हाउसफूल बिजनेसका साथ ८० लाख* ग्रस कलेक्सन गरेको वितरण कम्पनिको दाबी छ । दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ र ‘ए मेरो हजुर ४’का नाममा नेपाली सामाजिक सञ्जाल समेत विभाजित बनिरहेको छ ।

Comments