कन्फर्म: ‘हिरोपन्थी २’ छायांकारले ‘ह्रस्व दीर्घ’ खिच्ने
बलिउड प्राविधिकलाई लिएर निर्माण गर्ने घोषणा भएको फिल्म ‘ह्रस्व दीर्घ’मा चर्चित बलिउड सिनेमाटोग्राफर अनुबन्ध भएका छन् । बलिउड छायांकार कविरलाल यो फिल्ममा हालै अनुबन्ध भएका हुन् ।
बलिउड स्टार ऋतिक रोशनको डेब्यू फिल्म ‘कहो न प्यार है’, शाहरुख खान स्टारर ‘प्रदेस’, सलमान खान अभिनित फिल्म ‘प्रीन्स’ जस्ता बलिउडका थुप्रै सफल फिल्म खिचेका कविर लालले पहिलो पटक नेपाली फिल्म खिच्नेछन्। कविरले पछिल्लो पटक टाइगर श्राफ स्टारर फिल्म ‘हिरोपन्थी’ छायांकन गरेका थिए ।
‘ह्रस्व दीर्घ’ लाई अभिनेत्री नीता ढुंगानाको कम्पनी नीता फिल्म्स् ले निर्माण गर्दैछ। यो फिल्ममा नीतासंगै अभिनेता हरिहर अधिकारी मुख्य अभिनयमा रहनेछन् भने केही दिन पहिले मात्रै अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भइसकेका छन् । फिल्मका निर्देशक चन्द्र पन्त हुन् । हाल फिल्मको स्कृप्टको काम भइरहेको निर्माण टिमले बताएको छ ।