Logo

अनमोलको वास्तविक परिक्षा

नेपालमा पछिल्ला केहि वर्षयता नामले नै हलसम्म दर्शक उतार्न सक्ने सामर्थ्य राख्ने सोलो अभिनेतामा पर्छन् अनमोल केसी । ‘होस्टेल’ डेब्यू ब्वाई अनमोलले हालसम्म रिलिज भइसकेका सबै फिल्ममा आफ्नो क्रेजलाई प्रमाणित गरिसकेका छन् । फिल्मको कन्टेन्ट हेरेर सफलता असफलता जाँच हुँदै गर्दा स्टार क्रेज भने अनमोलको हरेक फिल्ममा उत्तिकै देखिन्छ ।

यसअघि अनमोल स्टारर फिल्म पर्दामा आउँदै गर्दा १,२ हप्तासम्मै कुनै पनि अन्य नेपाली फिल्मले प्रदर्शको आँट सम्म गर्न सकेनन् । त्यो अवस्था यो पटक पनि  छ । नयाँ वर्षमा फिल्म रिलिज हुँदा नेपाली फिल्म सोलो आउँदैछ । तर यो पटक परिस्थिति फेरिएको छ । अनमोल अभिनित ‘ए मेरो हजुर ४’ लाई दक्षिण भारतिय फिल्म ‘केजिएफ २’ वाधक बनेको छ ।

दक्षिण एसिया मात्र नभई भारतिय फिल्मको क्रेज रहने धेरै देशमा सर्वाधिक प्रतिक्षित बनेको ‘केजिएफ २’ ले नेपाली हलमा धेरै शोजहरुमा मात्र कब्जा जमाएको छैन अग्रिम बुकिङमा देखिएको दर्शकको क्रेजले ‘ए मेरो हजुर ४’ लाई सजिलो नभएको  प्रमाणित गरिसकेको छ । फेरी एकपटक नेपालमा विदेशी फिल्म र स्वदेशी फिल्मको लडाइँले बहस पाउँदा यो पटक अनमोलले स्टार क्रेजबाट मात्रै होइन् अभिनयबाट पनि आफुलाई प्रमाणित गर्नुपर्नेछ । अनमोलले यसअघि सबैजसो फिल्ममा अभिनयमा आलोचना खेप्ने गरेका छन् । लुक्सले मात्रै दर्शक तानेको अभिनयमा निखारता ल्याउन नसकेको आरोप उनलाई लाग्दै आउने गरेको छ । त्यसो त पछिल्ला रिलिज फिल्ममा उनले आफ्नो अभिनय कलालाई निखार्दै आएका छन् ।

वलियो कन्टेन्ट र कलाकारहरुको दमदार अभिनय रह्यो भने फिल्मप्रति दर्शक आकर्षण बढ्ने, व्यापारिक रुपमा पनि सफलता प्राप्त हुने कुरा हालै सार्वजनिक वलिउड फिल्म ‘दि कश्मिर फाइल्स’ले देखाइसकेको छ । यो पटक पनि अनमोलले अभिनयमै आलोचना खेप्ने, समिक्षक र इनिसियल दर्शकको ‘वर्ड अफ माउथ’ सकारात्मक आएन भने उनका फ्यानको लागि मात्रै फिल्म हलका पर्दाले प्रतिक्षा गर्नेछन् । त्यसैले पनि सयौं करोडको दक्षिण भारतीय फिल्मसँग प्रतिस्पर्धा गर्दा यो पटक अनमोलको स्टार क्रेज र अभिनय कलाको वास्तविक परिक्षा हुनेमा दुई मत छैन । सँगसँगै परिक्षा हुनेछ निर्देशक झरना थापाको पनि ।

Comments