Logo

सिक्किमबाट ’ग्रहण’ घोषणा, ‘थ्रीलर ड्रामा’मा विनयसँगै नम्रता र सारुक

 

नेपाली फिल्म ’ग्रहण’ बन्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको भारतको सिक्किम स्थित गान्तोकमा आज सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा कार्यक्रम गर्दै घोषणा गरियो ।

घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकारका समेत सार्वजनिक गरिएको छ । फिल्ममा विनय श्रेष्ठ , नम्रता श्रेष्ठ ,सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । थ्रीलर ड्रामा जनर रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानारमा निर्माण हुनेछ ।

भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने फिल्मको घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रोमोसन बोर्डकी अध्यक्ष पुजा शर्मा , सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ , कलाकारहरु विनय श्रेष्ठ , नम्रता श्रेष्ठ , सारुक ताम्राकार , निर्देशक राजीव गुरुङ , प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी , कास्टिङ डायरेक्टर सुदाम सिके लगायतको उपस्थिति रहेको थियो । सिक्किममै रहेका निर्देशक साम्तेन भुटिया पनि कार्यक्रममा उपस्थित थिए ।

सिक्किममा छायांकन गरिने फिल्मले दुबै देशको पर्यटनमा सघाउने विश्वास मन्त्री शर्माले व्यक्त गरे । ‘हाम्रो कलाकारलाई देश विदेशमा चिनाउन हामी लागिरहेका छौँ । त्यहिँ अनुरुप फिल्म बोर्ड , फिल्म नीति बनिसकेको छ । जसले हाम्रो नीति अनुसार यहाँ फिल्म छायांकन गर्छन् उनीहरुले एक करोड रुपैयाँ पाउनेछन्’ मन्त्री शर्माले भने । उनले कार्यक्रममा बोल्दै फिल्मको माध्यमले पर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिए । ‘हाम्रो ठाउँमा छायांकन गर्ने हामीले सघाउनु पर्ने ठाउँमा हामी सदैव तयार छौँ’ मन्त्री शर्माले भने ।

‘हामी स्वागत गर्दै तपाईलाई चाहिने सहयोग गर्न तत्पर छौँ । हाम्रो सुन्दरतालाई कैद गर्न आएका फिल्मकर्मीलाई हामी सदैव सहयोग गर्न तयार छौँ । यहाँसम्म आइदिनु भएकोमा हामी आभारी छौँ’ सञ्चार सचिव बस्नेतले भने । सिक्किम फिल्म प्रोमोसन बोर्डका अध्यक्ष शर्माले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै सिक्किमको फिल्म पोलिसीको बारेमा समेत बताइन । ‘सिक्किममा ७५ प्रतिशत छायांकन गर्ने फिल्म र ५० प्रतिशत कलाकार र प्राविधिकलाई फिल्ममा सहभागिता जनाउने पोलिसी सिक्किम सरकारको छ । हामी यहाँ ग्रहण टिमलाई हरेक पक्षमा सहयोग गर्न तत्पर छौँ’ बोर्ड अध्यक्ष शर्माले भनिन् ।

फिल्मको बारेमा बोल्दै अभिनेता विनयले यो लभ थ्रिलर फिल्म रहेको बताए । ‘मैले मेरो क्यारेक्टर रिभिल गर्न मिल्दैन । मेरो क्यारेक्टरको नाम विवेक हो । मलाइ सिक्किम दोस्रो घर जस्तो लाग्छ । यसपटक यहाँको मनोरम दृश्यमा काम गर्न पाउँदा निकै उत्साहित छु’ विनयले भने । कलाकारसँगै फिल्मको कार्यकारी निर्माता समेत रहेका विनयले फिल्ममा सिक्किमका कलाकारहरुसँगै प्राविधिक समेतको सहभागिता रहने बताए ।

फिल्मको बारेमा बोल्दै अभिनेत्री नम्रताले होम प्रोडक्सनबाट बनेको पहिलो फिल्म ‘सोल सिस्टर्स’ले छायांकन गरेको सम्झिन । ‘मैले आफ्नो प्रोडक्सनको सुरुवात नै यहिँबाट गरे । त्यसैले सिक्किमसँग म जोडिएकी छु । यो फिल्ममा मेरो क्यारेक्टर एरियल योगा इन्स्टक्टरको हो । फिल्मको स्टोरी लभ , थ्रील , ड्रामा मिश्रित भएकाले मैले धेरै कुरा खुलाउन मिल्दैन’ नम्रताले भनिन् । सरुकले पनि बोल्ने क्रममा केहि समय अगाडी म्युजिक भिडियो छायांकन गर्न आएको पललाई सम्झिए । ‘मैले म्युजिक भिडियोमा छायांकन गर्न आउँदा नै यहाँ राम्रो संकेत पाएको थिए । फिल्ममा मेरो क्यारेक्टर एन्टागोनिस्ट हिरोइनको प्रेमीको हो’ उनले भने ।

‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्ने गर्दैछन् । फिल्ममा हरी हुमागाईंको छायांकन , प्रविन श्रेष्ठको सम्पादन , बिशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनले रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङको रहेको छ । अन्य कलाकार तथा प्राविधिकलाई छिटै छनौट गर्ने निर्देशक गुरुङले बताए ।

Comments