Logo

बिहिबारबाट राजधानीमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव, ३८ देशका ८९ फिल्म देखाइने

‘विश्वभरीका कथाहरुको उत्सव,नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ आज (बिहिबार)बाट राजधानीमा नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को पाँचौं संस्करण सुरु हुँदै छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गर्दै आएको महोत्सव चैत २१ गतेसम्म चल्ने छ ।

राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा आयोजना हुन लागेको फिल्म महोत्सवमा ३८ देशका ८९ वटा फिल्म, वृत्तचित्र र एनिमेटेड फिल्महरु प्रदर्शन एवंम प्रतिस्पर्धामा हुनेछन् ।

पहिलो दिन राष्ट्रिय सभागृहमा साँझ साढे ५ बजे डा. पुरु लम्सालले निर्देशन गरेको ‘गोरु पर्व’ प्रदर्शन हुने आयोजकले बताएको छ । अर्थमन्त्री जनार्धन शर्माले ४ बजे महोत्सवको उद्घाटन गरेसँगै फिल्मको प्रदर्शनी सुरु हुनेछ ।

महोत्सवमा प्रदर्शनी हुने लामा छोटा सबै फिल्महरुबीच विभिन्न ७ विधामा प्रतिस्पर्धा हुनेछ भने उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिनेछ ।

महोत्सवले विश्वसामु नेपाली फिल्मको प्रवर्द्धन गर्दै नेपाली पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । गत वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा निफ आयोजना गरिएको थियो ।

Comments