पल शाहलाई थुनामुक्तको माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन
अदालतको आदेशविरुद्ध चित्त नबुझेको भन्दै अभिनेता पल शाहको तर्फबाट तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन परेको छ । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका अभिनेता शाहलाई थुनामुक्त गर्न माग गर्दै उनका कानुनी सहयोगीले मङ्गलवार उच्च अदालत पोखरामा तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका हुन् ।
गत बिहिबार जिल्ला अदालत तनहुँले शाहलाइ पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उच्च अदालत पोखरामा मङ्गलवार मुद्दा पुनरावेदनका लागि दर्ता गरिएको शाहका कानुन व्यवसायी भानुभक्त सुवेदीले बताएका छन् ।
‘शाह विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतबाट बिहीबार भएको आदेशमा चित्त नबुझेकाले उच्च अदालतमा पुनरावेदन गरेका छौं, तनहुँ जिल्ला अदालतले थुनुवामा राख्ने गरी जुन आदेश गरेको थियो त्यो आदेशकाविरुद्ध तारिखमा रिहाइ भएर मुद्दा लड्न पाउँ भनी उच्च अदालत पोखरामा पुनरावेदन गरिएको छ’, सुवेदीले भने ।
कानुन व्यवसायी सुवेदीले अदालतले यस्तो मुद्दामा थुनुवामा राखेर, साधारण तारिखमा छाडेर र धरौटीमा छाडेर तीन किसिमबाट अनुसन्धान गर्न सक्ने बताए।
उनले भने,‘अदालतले तीन किसिमको फैसला गर्न सक्छ ।आरोपितलाई थुनुवामा राखेर, साधारण तारिखमा छाडेर र धरौटीमा छाडेर अनुसन्धान गर्न सक्छ । तर, शाहलाइ त्यो मध्ये थुनुवामा राख्ने आदेश भएको छ। यसमा हाम्रो पक्षलाई चित्त नबुझेकाले पुनरावेदन गरेका हौँ।’
शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गरिएको छ । जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेपछि उनी पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । उनीहरूले तनहुँ र नवलपुरमा शाहले बलात्कार गरेको उजुरी गरे पनि त्यसलाई विश्वास गर्ने आधार नभएको, बेलुका बलात्कार गरेको भनिएको तर,भोलिपल्ट बिहान एउटै गाडीमा चढेर सुटिङमा गएको जस्ता कारण बलात्कार भएको आरोप लगाउने पीडितकै कुरा बाझिएको जिकिर गरेका छन् ।
गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुटो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।
-उकेराको सहयोगमा