Logo

आज ‘डान्सिङ स्टार्स नेपाल’ ग्राण्ड प्रिमियर, प्रतिस्पर्धामा १२ सेलिब्रेटी जोडी

शुक्रबारबाट डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ टेलिभिजन मार्फत दर्शकमाझ आउने भएको छ । आयोजक संस्था हिमालय टेलिभिजन एचडीले राजधानीमा एक कार्यक्रम गर्दै शुक्रबार ग्राण्ड प्रिमियर हुने जानकारी दिँदै १२ स्टार्सहरु सार्वजनिक गर्यो ।

विभिन्न क्षेत्रमा स्थापित १२ जना सेलिब्रेटीहरुले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गर्ने यो कार्यक्रम हरेक हप्ताको दुई दिन शुक्रबार र शनिबार सांझ ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ । २६ शृङ्खलासम्म चल्ने यो रियालिटी शो लाई आयोजक संस्थाले नेपालको मौलिक रियालिटी शो भनेको छ ।

कार्यक्रमबा बोल्दै हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कंडेलले ‘डान्सिङ स्टार्स नेपाल’ नृत्य विधाको सशक्त कार्यक्रम रहेको बताए । निर्देशक तथा प्रोजेक्ट हेड लक्ष्मण पौडेलले ‘नन डान्सिङ विधाका सेलिब्रेटीहरुलाई नृत्यमा उतार्नु आफैमा च्यालेन्ज रहेको बताए । अघिल्लो संस्करणको अनुभवमा टेकेर ‘शो’को ‘फर्म्याट’मा केहि परिवर्तन गरिएको समेत पौडेलले जानकारी दिए । अन्तर्राष्ट्रिय फर्म्याटमा आफ्नै दायरा हुने हुँदा देशको मौलिक कला संस्कृतिलाई स्थान दिन नपाउने अवस्था रहने भन्दै पौडेलले नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिने अपेक्षासहित आफ्नै फर्म्याटको विकास गरि यो शो ल्याउन लागेको बताए ।

यो शोमा अभिनेत्री गौरी मल्ल, अभिनेता दीलिप रायमाझी र कोरियोग्राफर रेनशा वान्तवा राई निर्णायकको रुपमा छन् । निर्णायक मध्येकी एक अभिनेत्री मल्लले दोश्रो संस्करणसम्म पनि आफुहरु सिकाईको क्रममा नै रहेको भन्दै कसैको पनि मुल्यांकन कसैबाट हुन नसक्ने बताइन् ।

फेमिली रियालिटी शो भनिएको डान्सिङ स्टार्ससमा नृत्यमा पोख्त नभएका विभिन्न विधामा प्रतिनिधित्व गर्ने स्थापित सेलिब्रेटीहरुले नाचेरै उपाधि जित्ने चुनौती स्विकार्दै यो सिजनमा सहभागिता जनाएका छन् । ‘शो’मा यो पटक चर्चित गायक धिरज राई, महिला रेस्लर भगवती खड्का, अभिनेत्री परमिता आर एल राना, लोकगायिका प्रीति आले, मोडल प्रदीप बास्तोला, मिस्टर नेपाल डा.सन्तोष उपाध्याय, एक खुट्टाले नृत्य गर्ने नृत्याङ्गना निलम ढुङ्गाना, मोडल सोनिका रोकाया, अभिनेत्री छिरिङ शैर्पा, टिकटक स्टार ट्विन अमर-अमृत दाहाल, मैथिली अभिनेत्री काजल कर्ण र मोटिभेसनल स्पिकर समाईरा श्रेष्ठ स्टार्सको रुपमा प्रतिस्पर्धामा हुनेछन् ।

निर्णायकले दिने अंक र हरेक साता हुने पब्लिक भोटिङमार्फत प्रतिस्पर्धिहरु एलिमिनेसन हुनेछन् । यसैबीच कार्यक्रममा आयोजकले विभिन्न प्रायोजकहरुसँग सम्झौता गरेको छ । हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुषाल र कार्यकारी निर्देशक कंडेलले प्रायोजकहरुसँग सम्झौता आदान प्रदान गरे । यो पटक डान्सिङ स्टार्स नेपाललाई ‘करेन्ट नुडल्स’ले टाइटल स्पोन्सर गरेको छ भने एनसिसी बैंक, डेनभृ पर्फ्युम, स्कोडा कार, हेराल्ड कलेज, इलआइसी नेपाल, जोय पपैया, सेन्सोडाइन, सनप्ले स्किन आक्वा,नेपालहोम्स डटकम प्रायोजकमा जोडिएका छन् ।

डान्सिङ स्टार्स नेपालको विजेताले २० लाख नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् । हिमालय टेलिभिजन एचडीले ‘ड भ्वाइस अफ नेपाल, भ्वाइस किड्स नेपाल, हिमालय रोडिज, सार्क ट्याङ्क, नेपाल्स नेक्स्ट टप मोडल जस्ता विश्व चर्चित रियालिटी शोहरु प्रसारण गर्दै आइरहेको छ भने डान्सिङ स्टार्स नेपाल र लोकस्टार गरी दुई मौलिक रियालिटी शो आफ्नै फर्म्याटमा प्रसारण गर्दैछ ।

तश्विर सौजन्यः शंकर गिरी (अनलाइनखबर)

Comments