न्यूरोडमा सञ्चालनमा आयो रञ्जना सिनेप्लेक्स
नेपालकै पुरानो सिनेमा हल मध्येको एक न्यूरोडस्थित रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । २०६५ सालबाट बन्द भएको यो हल १३ बर्षपछि रञ्जना सिनेप्लेक्सको नाममा पुनः सञ्चालनमा आएको हो ।
बिहिबार आयोजित एक कार्यक्रमकाबीच शुक्रबारबाट हल सञ्चालनको जानकारी गराइयो । यो हलमा ३ वटा अडिटोरियम छन् । जहाँ १३०,१८० र २५१ सिट क्षमता छ । यो हल अब अत्याधुनिक प्रविधि र सुविधाकाबीच सञ्चालनमा आएको सञ्चालक नरेन्द्र महर्जनले बताए । उनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ ।
यस्तै यो हलमा नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि फिल्मका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सिस्टम पनि जडान गरिएको महर्जनले बताए ।
काठमाडौंको मुख्य ब्यापारिक केन्द्र मानिने न्यूरोड मानिसहरुको अत्याधिक चाप हुने स्थान हो । सो स्थानमा अर्को हल नहुँदा रञ्जनाको पुरानो इतिहास दोहोरिन सक्ने पूर्वानुमान गर्न सकिन्छ । बि.सं २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हल मध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन् ।
२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको थियो । सोही समयदेखि रञ्जना सिनेमा पुनः सञ्चालनको तयारी भएको थियो । यो हलमा फिल्म हेर्दा थ्री डि शोजको लागि ४ सय ५० र टू डि को लागि ४ सय टिकट दर कायम गरिएको छ । हलका अपरेशन हेड विनोद पौडेलले हल सञ्चालनको पहिलो दिनको पहिलो शोज मै दर्शकको अपत्यारिलो उपस्थिति भएको बताए । ‘आजबाट मात्रै हल सञ्चालनमा ल्याएका छौँ, धेरैलाई थाहा हुनै बाँकी छ तर पहिलो शो मै दर्शकको उपस्थितिले रञ्जनाको साख र क्रेजप्रति सुखद संकेत गरिसकेको छ’, पौडेलले भने ।