राजनीतिमा लाग्ने कलाकारमाथी दीपकराजको ब्यङ्ग्य !
पछिल्लो दुई दिनयता अभिनेत्री करिश्मा मानन्धर देशको ठुलो दल नेकपा एमालेमा प्रवेशको खबरले सामाजिक सञ्जाल तथा मिडियामा गर्मिलो समाचार बन्यो । समाचारलाई सिद्ध गर्दै मंगलबार करिश्मा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका थाप्दै उक्त पार्टी प्रवेश गरिन् ।
देशमा स्थानिय निकायको चुनाब नजिकिँदै गर्दा राजनीतिक माहोल तातिँदै छ । विभिन्न तह र तप्काका व्याक्तिहरु विभिन्न पार्टीमा प्रवेशको लहर चल्दा त्यसको निरन्तरता करिश्माबाट पनि भयो । करिश्माको राजनीतिक यात्रा यो पहिलो थिएन । यसपहिले पनि उनि डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टी प्रवेश गरेर हात झिकेकी थिइन् ।
उता अभिनेत्री रेखा थापा राप्रापाको केन्द्रीय सदस्य रहेर ठाउँ ठाउँमा भाषण ठोक्नमा व्यस्त छिन् । गायिका कोमल वलीले एक कार्यकाल राष्ट्रिय सभाको सदस्य पद खाइसकेकी छिन् । कलाकारहरुको पार्टी प्रवेशको लहरले अभिनेता दीपकराज गिरीलाई खोइ के लाग्यो उनले भने घुमाउरो पाराले ब्यङ्ग्य गर्दै फेसबुकमा स्टाटस पोष्ट गरेका छन् ।
मंगलबार सांझ गिरीले लेखेका छन्, ‘चुनाब आयो ! हाम्रा कलाकार साथिहरू बिस्तारै पार्टी प्रबेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरे ! तर उहॉहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’ । स्टाटसमा गिरीले राजनीतिक पार्टीलाई ‘सेलिब्रेसन पार्टी’सँग तुलना गरेको देखिन्छ ।
त्यसो त गिरी राजनीति तथा समसामयिक विषयमा छिटो तर्क र टिप्पणी गर्नमा माहिर कलाकार हुन् । त्यसैले पनि होला उनले ठट्यौली पारामा नेपाली राजनीतिप्रति ब्यङ्ग्य गरेको देखिन्छ । गिरीको यो स्टाटस नेपाली राजनीति प्रतिको वितृष्णा हो या पार्टी प्रवेश गर्ने कलाकारमाथीको व्यङ्ग्य त्यो त उनैले जान्ने कुरा हो । तर अनेक पार्टी प्रवेशको समाचार मात्र बनेका हाम्रा कलाकारहरु आजसम्म देशको कुनै निर्णायक स्थानमा नपुगेको चाहिँ सत्य हो ।