राष्ट्रिय फुटबलर एन्जिलाको कथामा ‘अन्जिला’ घोषणा, दयाहाङ पनि जोडिए
महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित रहेर फिल्म ‘अन्जिला’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो ।
मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्ममा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । उनीसँगै चलचित्रमा दयाहाङ राईसिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ । एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए । उनले फिल्मको घोषणा सभामा भने, ‘एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई फिल्ममा देखाउने छौं । सफल खेलाडी बन्नु अगाडि एन्जिलाले गरेका दुःखहरु धेरै छन्, त्यसलाई फिल्ममा विशेष जोड दिनेछौं । इच्छा भयो र गर्न चाहे असम्भव भन्ने कुरा नहुने सन्देश फिल्मले दिनेछ ।’
उनी फिल्मलाई ठ्याक्कै एन्जिलाको बायोपिक भन्न भने रुचाउँदैनन् । चाम्सले अगाडि भने,‘एन्जिलाकै कथाबाट फिल्म प्रभावित छ । ७५ प्रतिशत चाहिँ एन्जिलाकै जीवनी देखाउने छौं, २५ प्रतिशत भने वास्तविक कथासँग जोडिएका अन्य कथाहरुलाई जोड्नेछौं ।’ कसैको आत्मसम्मानमा ठोस नपुगोस् भनेर कथामा केही मोटिफाइड गरेका छौं, चाम्सले सुनाए ।
खेलमा पोख्त एन्जिला पहिलो पटक अभिनयको पनि अनुभव बटुल्दैछिन् । आमाकै खातिर पनि फिल्ममा अभिनय गर्न लागेकी उनि अहिले मण्डल थिएटरमा अभिनय सिकिरहेकी छन् । फिल्ममा आफ्नोतर्फबाट सकेको काम गर्न कुनै कसर नछाड्ने उनी बताउँछिन् । उनले कसैको दबाब र प्रभावले फिल्ममा अभिनय गर्न नलागेको पनि स्पष्ट पारेकी छन् । आफ्नो जीवनीमा फिल्म बन्नु आफ्नो ठूलो उपलब्धि रहेको उनको भनाई छ ।
त्यस्तै, अभिनेता दयाहाङ राईले पहिलो पटक आफूले खेलाडीको बायोपिकमा काम गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले भनेका छन्, ‘कलाकार भएको हिसाबले खेलकुदलाई नजिकबाट हेरिरहेको हुन्छु । तर, खेलाडीको जीवनबारे भने कमै जानकारी हुन्छ । ‘अन्जिला’बाट खेलकुदलाई अझ नजिकबाट निहाल्ने मौका पाएको छु ।’ उनले फिल्ममा निर्वाह गर्ने चरित्रको बारेमा भने जानकारी दिएनन् ।
निर्माता प्रेम कुमार श्रेष्ठले भने एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई फिल्मलाई देखाइने जानकारी दिए । १३ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए ।
फिल्म घोषणा सभामा प्रमुख अतिथीको रुपमा उपस्थित भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने धारणा गरे । एन्जिलाको जीवनीमा बन्न लागेको फिल्म खेल क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने धेरैका लागि प्रेरणा बन्ने मन्त्री गहतराजको विश्वास छ । उनले भविष्यमा अरु पनि खेलाडीको जीवनीमा चलचित्र बनाउन आग्रह गरेका छन् ।
केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा प्रेम कुमार श्रेष्ठ र केन्द्र लिम्बु निर्मातामा छन् । विनोद अग्रवाल र राजेश अग्रवाल सह-निर्माता रहेको फिल्मको आउँदो वर्षको जेठ अन्तिमबाट छायांकन हुनेछ । यम थापाको कथा रहेको फिल्मलाई सुदीप बरालले खिच्नेछन् ।