Logo

शिवरात्रीमा ‘प्रेमगीत ३’ रिलिज घोषणा, ‘लप्पन छप्पन २’ प्रदर्शन अन्यौल

फिल्म ‘प्रेमगीत ३’ आगामी फागुन १३ मा दर्शकमाझ आउने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालबाट फिल्म प्रदर्सनको नयाँ मिति घोषणा गरेका हुन् । यसअघि यो फिल्म चैत्रमा प्रदर्शन तय भएको थियो ।

शिवरात्रीको अवसर पारेर फिल्मलाई दर्शकमाझ ल्याउन लागिएको हो । शिवरात्रीको छेकोमा पर्ने सार्वजनिक बिदालाई लक्षित गर्दै निर्माण टिमले नयाँ मिति सार्वजनिक गरेको हो । यो वर्षको शिवरात्री फागुन १७ मा परेको छ भने त्यसको दुई दिनपछि ग्याल्पो ल्होसार छ ।

यसअघि नेपाल र भारतमा समेत एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्मको प्रदर्शन मिति हेरफेर हुँदा भारतमा प्रदर्शन के हुने खुलाइएको छैन । निर्माता सेनले भारतमा प्रदर्शन हुँदा फरक नाम रहने भएकोले प्रदर्शन अघिपछि हुने बताए । निर्माण टिमले ४ करोडमा ‘प्रेमगीत ३’को भारत प्रदर्शन अधिकार बिक्री भएको दाबी गर्दै आएको छ ।

छेतेन गुरुङसँग सन्तोष सेनले निर्देशनमा साझेदारी गरेका यो फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी लगायत लिड अभिनयमा छन् । फिल्मको कथा छेतेन गुरुङले लेखेका हुन् । गुरुङको केहि समय पहिले निधन भएको थियो । निर्माता निर्देशक सेनले केहि दिनमा ट्रेलर सार्वजनिक गर्दै प्रचार प्रसारमा उत्रिने बताएका छन् ।

यसैबीच यो ‘प्रेमगीत ३’ प्रदर्शन घोषणापछि यसअघि नै फागुन १३ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘लप्पन छप्पन २’को रिलिज अन्यौल बनेको छ । दुबै फिल्मको वितरण कम्पनि एकै रहेको कारण उक्त फिल्मको प्रदर्शन हेरफेर हुने आंकलन गरिएको छ । यी दुबै फिल्मलाई मनोज राठीले वितरण गर्दैछन् ।

Comments