‘घुइँचो’ अफिसियल घोषणा, एलिजासँग कुन्साङको जोडी
चलचित्र ‘घुइँचो’ निर्माणको घोषणा गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माणको घोेषणा गरिएको हो ।
सामाजिक कथाबस्तुमा बन्न लागेको यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । दीपेन्द्रले यसअघि ‘घामपानी, गोपि, छ माया छपक्कै’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् ।
यो चलचित्रलाई निर्माता रामजी दैलेखीले निर्माण गर्दैछन् । निर्माता दैलेखीले चलचित्रको कथा राम्रो भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । उनले, चलचित्र क्षेत्रलाई नयाँ पुस्ताले अगाडि बढाउनुपर्छ भन्ने सोच बोकेर आफू यो क्षेत्रमा होमिएको बताए ।
यस्तै, चलचित्रका निर्देशक दिपेन्द्र लामाले चलचित्रको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने जानकारी दिए । अभिनेत्री एलिजा गौतमले चलचित्रको कथाले मन तानेको बताइन् । उनले, यो चलचित्र आफ्ना लागि पुनर्जन्म भएको समेत तर्क गरिन् ।
डेब्यू अभिनेता कुन्साङले आफू चलचित्रमा केही फरक भूमिका गर्न चाहिरहेको बताउँदै कथावस्तु सुनेपछि मन परेको बताए । उनले, नायिका एलिजा गौतमको बारेमा आफूले धेरै कुरा सुनेको भन्दै सँगै काम गर्न पाउँदा खुशी लागेको समेत बताए ।
यो चलचित्रले एउटा विकट गाउँबाट अमेरिकासम्म यात्रा गर्ने एक यूवकको कथा भन्नेछ । चलचित्रको छायांकन माघको अन्तिम साताबाट सुरु गर्ने निर्माणपक्षको भनाई छ । चलचित्रका अन्य कलाकार र प्राविधिक चाडै नै फाइनल गर्ने निर्माता दैलेखीले जानकारी दिए ।