दीपक दीपासँग दोस्रो सहकार्यको तयारीमा रोहित, दशैंपछि फ्लोरमा
पहिलो फिल्म ‘गाजलु’ बाटै हिट निर्माताको ट्याग पाएका निर्माता रोहित अधिकारी दोस्रो प्रोजेक्ट ‘छ माया छपक्कै’मा पनि उक्त ट्यागलाई जोगाउन सफल रहे । स्टार अभिनेता अनमोल केसी लिएर ‘गाजलु’ बनाएका उनले दोस्रो पटक ब्लकवस्टर ‘छक्का पञ्जा’ टिमसँग सहकार्य गरे । पहिलोपटक आफ्नो ब्यानर बाहिर काम गरेको दीपकराज गिरी, दीपाश्री निरौलाको टिम सहित ‘छ माया छपक्कै’ले बक्सअफिसमा कमाल गर्यो ।
अब रोहित पुनः उक्त टिमसहित पुनः दोस्रो सहकार्यमा जुटेका छन् । फिल्मीनेपालसँगको कुराकानीमा उनले दीपक दीपा टिमसहित नयाँ फिल्म निर्माणको तयारीमा जुटेको बताए । ‘अहिले हामी स्कृप्टको तयारीमा छौं, स्कृप्टलाई लिएर दीपक दाई पोजिटिभ हुनुहुन्छ, अधिकारीले भने, ‘छायांकनमा दशैं तिहारको बीचमा जाने सोचमा छौं, निर्देशक चल्तिकै रहनु हुनेछ ।’
‘छ माया छपक्कै’को सिक्वेल निर्माणको चर्चा भइरहँदा अधिकारीले नयाँ फिल्म कुनै फिल्मको सिक्वेल नहुने बताए । मल्टिस्टारर भनिएको उक्त फिल्म कमेडीको पुर्ण प्याकेज रहने उनको भनाइ छ । अधिकारी भन्छन्, ‘यो पटक हाम्रो टिम ‘छक्का पञ्जा’, र ‘छ माया छपक्कै’ फ्लेभर भन्दा विल्कुल बाहिर रहेर नयाँ फ्लेभरको कमेडी स्वाद दर्शकलाई दिने तयारीमा छौं ।’
श्रोतका अनुसार उक्त फिल्ममा जितु नेपाल भने रहने छैनन् । त्यसो त अभिनेता गिरीले कोभिड महामारीपछिको अबको दिनमा आफुहरु बाहिरी ब्यानरसहितको टिमअपमा काम गर्ने मनशायमा रहेको बताइरहँदा अधिकारीबाट प्राप्त सुचनाले थप बल पुर्याएको छ ।