Logo

नेपाल युरोपियन युनियन फिल्म महोत्सवमा पहिलोपल्ट नेपाली फिल्म

नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ २०२१) भर्चुअल स्ट्रिमिङ प्लाटफर्म “फेस्टिभल स्कोप” मार्फत गर्ने जानकारी गराएको छ। महोत्सवको यस दशौँ संस्करणमा नेपाली दर्शकहरूका लागि यही असोज १ देखि ९ सम्मको अवधिभरि विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ चलचित्रको साथै अन्य २४ चलचित्रहरू प्रदर्शन गरिने छन् ।

‘महामारीबाट सिर्जित कठिनाइहरूको कारणले गर्दा सांस्कृतिक गतिविधिहरूलाई ठप्प पारेको अवस्था छ । यस्तो स्थितिमा पनि हामी नेपाल तथा युरोपियन युनियनबीचको सांस्कृतिक आदानप्रदान तथा फ्यूजनको प्रवर्द्धन केही उत्कृष्ट नेपाली तथा युरोपेली चलचित्रहरूको अनलाइन प्रदर्शनीबाट गरिरहेका छौं,’ नेपालका लागि युरोपियन युनियनको डेलिगेसनका कार्यवाहक राजदूत स्टेफेन माइकनले भने ।

महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली चलचित्रहरू समावेश गरिएका छन् । यीमध्ये दुईओटा चलचित्र नेपाली भाषामा सबटाइटल गरिएका छन् । यस्तै तीनओटा पुरस्कार जित्न सफल नेपाली चलचित्रहरू पनि समावेश गरिएका छन् । विनोद पौडेल निर्देशित बुलबुल, धोन्डुप छिरीङ निर्देशित आमा खान्डा तथा सर्जियो बास्सो निर्देशित सरीता । त्यस्तै यस महोत्सवमा देखाइने नन्दन सक्सेना तथा कविता भालद्वारा निर्देशित भारतको वातावरणीय चलचित्र आई क्यान नट् गिभ यू माई फरेस्ट उत्कृष्ट कृषि चलचित्र विधामा भारतको राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत चलचित्र हो ।

गणेश पाण्डे निर्देशित को–हसबेन्ड्स् तथा राजन कठेत निर्देशित स्प्लिट् एन्ड्स् दुई छोटा चलचित्रले महोत्सवमा नेपाली चलचित्रहरूको सूचीलाई थप रुचिकर बनाएका छन् ।रादु कोर्निसिसुको ‘वल्र्ड सिनेमा डकुमेन्ट्री कम्पिटिसन’ तथा सनडान्डस् फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन गरिएको अकासा माई होम नामक वृत्तचित्रले घर, परिवार तथा खुसीको बारेको हाम्रा धारणालाई चुनौती दिन्छ । उक्त वृत्तचित्रमा राखिएका नेपाली भाषाको सबटाइटलले वृत्तचित्रलाई नेपाली दर्शकका लागि बढी रुचीकर तथा ग्राह्य बनाउने छ भन्ने आशा गरिएको छ ।

अर्को युरोपेली चलचित्र हर जबलाई पनि नेपाली भाषामा सबटाइटल राखिएको छ । उक्त चलचित्र सपिङ मलमा सफाई गर्ने काम पाए पछि आफ्नो नयाँ अस्तित्वको अनुभूति गरेकी एक दबाइएकी⁄दबिएकी महिलाको कथामा आधारित छ ।हर जब चलचित्र निर्देशक लेबोटको पहिलो फिचर चलचित्र हो जसलाई ४३ औँ टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको डिस्कभरी खण्डमा पहिलो पटक प्रदर्शित गरिएको थियो ।

अन्य चलचित्रहरूमा अंग्रेजी सबटाइटल राखिएका छन् । माथि उल्लेखित मुख्य चलचित्रहरुका अलावा यस वर्षको नियुफ्को अर्को आकर्षण भनेको महोत्सवमा २३ ओटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित चलचित्र समावेश गरिनु हो । ती सबै चलचित्रहरूले हामी वरिपरिको वातावरणको महत्व, जलवायु परिवर्तनले वनस्पति तथा जीव–जनावरहरूका लागि खडा गर्ने चुनौतीहरू तथा प्रकृतिसँग बढी सामञ्जस्य तथा दिगो तरिकाले जीवनयापन गर्नुपर्ने आवश्यकताको बारेमा जनचेतना अभिवृद्धि गर्ने प्रयास गरेका छन् ।

फायरफक्स् गार्डियन शीर्षक भएको एउटा छोटो वृत्तचित्रले पूर्वी नेपालकी एक स्थानीय महिला संरक्षणवादीको कथा भन्छ जसले उनी संकटासन्न जीवको सूचीमा रहेको रातो पाण्डाको संरक्षणका लागि पहलहरू बढाउनुपर्ने आवश्यकताको बारेमा कसरी जनचेतना बढाइरहेकी छिन् भन्ने देखाउँछ ।

अन्य वातावरणीय चलचित्रहरू युरोप तथा भारतको पृष्ठभूमिमा निर्माण गरिएका छन् । ती चलचित्रहरुले उठाएका सवालहरू नेपालको सन्दर्भमा पनि उपयुक्त भएकाले ती चलचित्रहरुलाई महोत्वसमा समावेश गरिएको हो ।

महोत्सवमा प्रदर्शित गरिने चलचित्रहरुको अलावा चलचित्र निर्माणका विविध पक्षहरूको बारेमा पनि तीनवटा कार्यक्रमहरूको आयोजना गरिने छ । यसअन्तर्गत पहिलो कार्यक्रम असोज ३ गते दिउँसो २ बजे युरोपेली तथा नेपाली चलचित्र निर्माणको कलात्मक तथा वित्तीय पक्षहरू बारे अन्तक्र्रियात्मक कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा नेपाल तथा युरोपका प्रख्यात चलचित्रकर्मीहरू सहभागी हुनेछन् ।

त्यस्तै असोज ६ गते दिउँसो २ बजे चलचित्रमा महिला शीर्षकमा दोस्रो कार्यक्रम हुनेछ । नेपाल तथा युरोपका प्रख्यात चलचित्र निर्देशक तथा चलचित्र महोत्सव आयोजकहरू सहभागी हुने उक्त कार्यक्रममा चलचित्र निर्माणका विभिन्न पाटाहरू तथा हालको समयमा चलचित्र उद्योगमा महिलाहरूको अवस्था कस्तो छ भन्ने बारेमा छलफल गरिने छ ।

यस्तै उक्त शृंखलाको तेस्रो कार्यक्रम हरित चलचित्रनिर्माण विषयमा अन्तक्र्रिया गरिने छ, जसलाई डा. एलबर्टो बाट्टोचीले सहजीकरण गर्नु हुनेछ । उहाँले श्रव्यदृश्य निर्माणमा वातावरणीय दिगोपनको बारेमा चर्चा गर्नु हुनेछ । यो कार्यक्रम असोज ८ गते दिउँसो २ बजे हुनेछ ।

यस वर्षको संस्करणमा बाँकी रहेको अर्को एउटा कार्यक्रम भनेको व्यवसायिक चलचित्र निर्माताहरूको प्रतिभालाई सम्मान गर्नु हो जसका लागि लैंगिक समानता शीर्षकमा लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको छ । यस प्रतियोगिताको लागि कुल १५ फिल्महरु प्राप्त भएका छन्।

त्यस प्रतिस्पर्धाका लागि चलचित्रहरू बुझाउने समयसीमा भाद्र १५ सकिएको छ र हाल ती चलचित्रहरूको मूल्यांकन भैरहेको छ । त्यसमा विजेता हुने चलचित्रले ५०० युरोको नगद पुरस्कार पाउने छ र उक्त चलचित्रको निर्देशकलाई महोत्सवको अन्तिम दिन आफ्ना अनुभवहरू साझा गर्नका लागि आमन्त्रित गरिने छ । विजयी चलचित्र यस महोत्सवको मुख्य कार्यक्रमको हिस्सा बन्नेछ ।

महोत्सवमा भएका चलचित्र हेर्नका लागि इच्छुक दर्शकले https://www.festivalscope.com/page/neuff/ प्रयोग गरी फेस्टिभलस्कोपको साइटमा जान सक्ने छन् । साइटमा गइसकेपछि, दर्शकले आफ्नो इमेल ठेगाना प्रयोग गरी आफ्नो खाता खोल्न सक्ने छन् । खाता खोलिसकेपछि दर्शकले साइन इन् गरेर निशुल्क रुपमा कुनै पनि चलचित्र हेर्न सक्ने छन् । महोत्सवको साइट आगामी असोज १ बाट मात्र सुचारु हुनेछ ।

-सामिप्यराज तिमल्सेनाको सहयोगमा

Comments