Logo

नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा दयाहाङ

अभिनेता दयाहाङ राई नेपाल – युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।

‘लोकप्रिय कलाकार’ अभिनेता दयाहाङ राई नेपाल–इयु चलचित्र महोत्सव (नियुफ्) का लागि (ब्राण्ड) एम्बेस्डर अथवा दूत हुनु भएको सूचित गर्न पाउदाँ हामी गर्वित छौं, उहाँले चलचित्र महोत्सव अवधिभर नै हाम्रा विभिन्न संस्कृतिहरुबीचको (सजीव) संवाद तथा विश्वका लागि हाम्रो परिकल्पनाहरुलाई पूर्णरुपमा साकार तुल्याउनका लागि हामीसँग मिलेर काम गर्नु हुनेछ’, डेलिगेसनले जनाएको छ ।

यसैगरी डेलिगेसनले युरोपियन युनियनको साइटमा लग इन गरेर चलचित्रमार्फत युरोप र नेपालको सांस्कृतिक मिलनलाई हेर्न तथा त्यसको आनन्द लिन सकिने पनि बताएको छ । ‘फेस्टिभलको साइटमा लग इन गरेपछि सजिलोसँग चलचित्रमा समावेश भएका चलचित्र सजिलोसँग हेर्न सकिन्छ । हाम्रा सामाजिक सञ्जालबाट महोत्सवको साइटको ठेगाना चाँडै नै प्राप्त गर्न सक्नु हुने छ’, भनिएको छ । चलचित्रहरू निःशुल्क हेर्न सकिन्छ ।

दयाहाङ राईले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले महामारीका कारण फिल्मका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि हुने फेस्टिभलले फिल्मकर्मीमा उर्जा सञ्चार गर्ने बताए ।

‘महामारीले फिल्मका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली फिल्म पनि समावेश हुनेरैछन्, यसले झनै उत्साहित तुल्याएको छ,’ उनले भने, ‘ यो फेस्टिभल आफैंमा साँस्कृतिक आदान प्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्छ ।’

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तर्क्रिया र गोष्ठिहरू पनि सञ्चालन हुने छन् ।

Comments