अमेरिकन फिल्म अवार्डमा छानियो नेपाली ‘कठपुतली’
नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ । आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनौट भएको यो फिल्म सेप्टेम्बर २६ तारिखमा स्क्रिनिङ हुने ‘विन्टर फिल्म अवार्ड’ को वेबसाइटमा उल्लेख छ ।
‘कठपुतली’ का निर्देशक भिमसेन लामाले संसारकै प्रतिष्ठित फेस्टिभलमा नेपाली फिल्म छनौट हुनु नेपाल र नेपाली फिल्म क्षेत्रका लागि गर्वको कुरा रहेको बताए । अहिले उनी फिल्मको स्क्रिनिङका लागि अमेरिकामा नै छन् । न्यूयोर्कको ‘सिनेमा भिलेज थिएटर १’ मा यो फेस्टिभल आयोजना हुँदैछ ।
काल्पनिक कथामा निर्माण भएको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । अन्य हरर फिल्मभन्दा ‘कठपुतली’ भिन्न रहेको निर्देशक लामा बताउँछन् ।
निर्देशक लामाले यसअघि लघु फिल्मबाट विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड जितिसकेका छन् । उनले ‘कठपुतली’ बाट फिचर फिल्ममा डेब्यू गरेका हुन् । ‘यो फिल्म हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ उनी भन्छन्, ‘हरर फिल्म मेरो रोजाइको विषय हो र यो फिल्म मेरो ड्रिम प्रोजेक्ट हो ।’ फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनमा भएको हो । यो चलचित्रलाई सम्पदा मल्लले लेखेकी हुन् ।