डेढ दशकदेखि ‘कलर ग्रेडिङ’मा निरन्तर रेनिस
डेढ दशकअघि नेपाल फिल्ममा कलर ग्रेडिङ खासै चासोको विषयका रुपमा लिइँदैन थियो । फिल्ममा प्रविधिको विकास भित्रिएसँगै कलर ग्रेडिङप्रति निर्माता र निर्देशकको चासो बढ्दै गयो ।
कलर ग्रेडिङलाई करियर बनाएर निरन्तरता दिइरहेका फिल्म कलरिष्ट रेनिस फागोले डेढ दशकअघि नेपाली फिल्ममा कलरिष्टका रुपमा पाइला चाले । उनले कलर ग्रेडिङको काम सुरु गर्दा केवल हातमा हातमा गन्ने संख्यामा मात्र कलरिष्ट थिए । अहिले उनको पदचाप पछ्याउदै कलर ग्रेडिङ सिक्न आउनेको संख्या उल्लेख्य छ ।
आकाश अधिकारी निर्देशित फिल्म ‘काठमाडौं’बाट फिल्मको कलर ग्रेडिङको काम शुरु गरेका रेनिसले काठमाडौंको जमलमा रहेको पेन्टा सफ्टबाट कलर ग्रेडिङमा मल्टिमिडियाको डिप्लोमा कोर्स पूरा गरेका छन् । यहाँपछि उनले राजधानीको महाराजगञ्जमा रहेको किन्डल सिने स्टुडियो (रेड स्टुडियो)मा तीन भारतीय कलरिस्टसँग कलर ग्रेडिङका विषयमा थप शिक्षा लिए । रेनिस आफू नेपाली फिल्ममा हलिउड र बलिउडको फ्लेभरको कलर ग्रेडिङ गर्न सक्ने बताउछन् ।
रेनिस नेपालका व्यस्त र महंगा कलरिष्ट हुन् । फिल्मका कथालाई राम्रोसँग बुझेर रंग संयोजन गर्ने रेनिसले हालसम्म झण्डै पाँच दर्जन फिल्ममा रंग संयोजनको कला देखाइसकेका छन् । उनले थुप्रै म्यूजिक भिडियो र टेलिभिजन कमर्शियल विज्ञापनमा काम गरिसकेका छन् । साथै भारतीय केही फिल्म र म्यूजिक भिडियोमा समेत काम गरेका छन् ।
उनले कलर ग्रेडिङ गरेको फिल्मले ५१ औं दिन मनाएको संख्या धेरै छ । अवार्ड जित्ने फिल्म पनि उत्तिनै बढी छन् । रेनिसले रंग संयोजन गरेका फिल्महरु ‘काली’, ‘प्रेमगीत’, ‘कोहिनूर’, ‘प्रेमगीत–२’, ‘कान्छी’, ‘मेला’, ‘डमरुको डण्डीबियो’, ‘छिरिङ’, ‘समरलभ’ र ‘यात्रा’ले राम्रो तारिफ पनि पाएका छन् । उनी हाल ‘तिम्रो मेरो साथ’, ‘पासो’, ‘कृष्णलीला’, ‘मनसँग मन’, ‘मन्जिल’, ‘सम्हालिन्छ कहिले मन’ जस्ता नेपाली फिल्म र बलिउडका ‘जय शम्भु’, ‘प्रेमगीत २’मा व्यस्त छन् ।
रेनिसले नयाँपुस्तालाई कलर ग्रेडिङको विषयमा तालिम दिइरहेका छन् । उनको कामप्रतिको लगाव र मेहनतका कारण अधिकांश फिल्म निर्माता तथा निर्देशकको पहिलो रोजाईको कलरिष्ट बनेका छन् । उनी नेपाली फिल्मको स्तरलाई अझ माथि लैजान आफ्नै कलर ग्रेडिङ सम्बन्धी पढाई हुने इनिष्टिच्यूट खोल्ने योजनामा छन् ।