टिकटकदेखि म्युजिक भिडियोसम्मः गीताले पाएको नसोचेको सफलता
सागर जोशी ।
टिकटक पछिल्लो समय युवापुस्ताले निकै मन पराएको सामाजिक सञ्जालमा गनिन्छ । यो फिचर्ड यतिबेला विश्वभर धेरै प्रयोगकर्ताको लागि मनोरञ्जन गर्ने गराउने माध्यम बनेको छ । टिकटकमै प्रस्तुत प्रतिभाले धेरै प्रयोगकर्ताको जीवनस्तरमै छलाङ आएको समाचारहरु मिडियामा प्राथमिकताका साथ प्रकाशन, प्रसारण भइरहन्छन् ।
नेपालमा पनि यो फिचर्डले धेरैको भाग्य बदलिदिएको छ । पछिल्लो समय नेपाली म्युजिक भिडियो, टेलि सिरियल, वेभ सिरिजदेखि फिल्मसम्म टिकटकमा देखाएको अभिनय प्रस्तुतिले कलाकारहरु जन्मिरहेका छन्, स्थान पाइरहेका छन् । यो भिडमा एक नाम हो, गीता ढुङ्गाना ।
बालापनदेखि अभिनयकलामा रुचि राख्ने गीता कलाकार बन्ने सोच त बोक्थिन्, तर उनले कला प्रस्तुत गर्ने उपयुक्त स्थान भेटेकी थिइनन् । न त कला क्षेत्रसँग जोडिएका कोहिसँग उनको र उनको परिवारको ठुलो निकटता थियो । यहि बीचमा उदाएको टिकटकले गीताको भाग्य बदलिदियो ।
यतिबेला गीता नेपाली म्युजिक भिडियोको दुनियाँमा चलेको नाम हो । टिकटकबाटै उदाएकी गीताले नेपालका नाम चलेका सबैजसो मोडलहरुसँग कम्मर मर्काइसकेकी छिन् । फिल्मवृत्तमा महानायककको उपमा पाएका राजेश हमालसँग समेत उनले जोडी बाँधिसकेकी छिन् । जुन कुराहरुले पनि म्युजिक भिडियोमा उनको उपस्थिति र व्यस्तता प्रमाणित गर्छ ।
नेपालमा टिकटक प्रयोगको क्रम बढेसँगै गीताले सुरुवातमा गीत संगीतमा फरक पहिचान बनाउन सफल सुदुरपश्चिमको चर्चित भाका ‘देउडा’मा आफ्नो अभिनय पोख्दै टिकटक बनाउन सुरु गरिन् । समयक्रममा उनले बनाएका टिकटकहरु चर्चित बन्न पुगे । फ्लोअर्स बढ्दै गयो, सुन्दर, शालिन देखिने गीतामा कलाक्षेत्रको आँखा पुग्यो । टिकटकदेखि उदाएकी गीता यतिबेला स्थापित मोडल बनिसकेकी छिन्, मात्रै केहि महिनाको बीचमा ।
म्युजिक भिडियोमा यतिबेला रोजाइकी मोडल बनेकी गीता परिस्थिति अनुकुल बनेको अवस्थामा फिल्म डेब्यूको पर्खाइमा छिन् । ‘मेरो ईच्छा त सानैदेखि कलाकारीतामा थियो, गीता सुनाउँछिन्, ‘आफैले भिडियो बनाएर टिकटकमा अपलोड गर्थेँ, अहिले सबैले मन पराईदिनुभएको छ, अहिले पाएको स्थानले एकदमै खुशी छु ।’ यो बीचको आफ्नो प्रगतिलाई फर्केर हेर्दा नसोचेको सफलता हात पारेको उनको भनाई छ ।
लोकदेखि आधुनिक गीतसम्म ख्यातिप्राप्त कलाकारहरुलाई पछि पार्दै उनले यतिबेला आफ्नो स्थानलाई अग्र पङ्गतिमा पुर्याएकी छिन् । गीताजस्तै टिकटकबाट उदाएका धेरै कलाकारहरुको यतिबेला नेपाली म्युजिक भिडियोमा एकछत्र जस्तै राज देखिन्छ ।
निरन्तर मोडलिङमा रहँदा गायक चक्र बमको गीत ‘ओए काजल’ मा समेटिएको उनको अभिनय कलाले धेरैको मनजित्यो । टिकटकमा मात्रै लाखौं प्रयोगकर्ताले भिडियो बनाएको यो गीतले उनको चर्चालाई थप शिखरमा पुर्यायो । सो म्युजिक भिडियो आफ्नो करियरकै ‘टर्निङ पोइण्ट’ भएको उनी बताउँछिन् ।
फिल्म खेल्ने चाहाना
म्युजिक भिडियो सँगै अहिले उनलाई फिल्मको लागी प्रस्ताव समेत आउने गरेको छ । ‘अहिलेसम्म तीन फिल्ममा अभिनयको लागी प्रस्ताव आयो, गीता भन्छिन्, ‘ पढाइ र अन्य कारणले प्रस्तावलाई स्विकार्न सकेकी छैन ।’ आगामी दिनमा समयले साथ दिएको अवस्था, चित्तबुझ्दो स्कृप्ट पाएको खण्डमा फिल्म अभिनयमा पाइला अघि बढाउने उनको सोच छ । तर एकाध फिल्ममा अभिनयसँगै धेरै कलाकार भिडमै हराइरहेको उदाहरण दिँदै उनले अभिनयमा निखारता ल्याएर मात्रै फिल्म उधोगसँग जोडिने बताइन् । पछिल्लो पुस्ताका चलेका नामहरु अनमोल केसी ,पल शाह, पुष्प खड्का, प्रदिप खड्कासँग फिल्ममा जोडी बाँध्ने इच्छा रहेको पनि उनले सुनाइन् ।
टिकटक बनाउन दाइको साथ
सुरुवातमा टिकटक खोल्नमा आफ्नो दाइको महत्वपुर्ण भुमिका रहेको उनि बताउँछिन् । ‘दाईले टिकटक बनाउँदा उनि हेरि बस्थिन् । दाइले बनाउँदा बनाउँदै गीतालाइ पनि टिकटकमा जोडिन मन लाग्यो । उनका दाइले पनि भिडियो बनाउन बेला-बेला प्रेरित गर्थे जसले गर्दा उनलाई थप भिडियो बनाउन हौसला मिल्यो । दुई बर्ष अगाडी उनले स्कुलबाट फर्किँदै गर्दा एउटा टिकटक बनाइन्, अपलोड गरिन् । त्यसको दश पन्ध्र दिनमै भिडियोले राम्रो रेस्पोन्स पायो, त्यसपछि निरन्तर टिकटकमा देखिने गीता यतिबेला चलेकी टिकटक सेलिब्रेटी छिन् ।
अभिनयसँगै पढाइलाई पनि प्राथमिकता दिएर अघि बढ्ने उनको सोच छ । ‘म्युजिक भिडियोकै माध्यमबाट धेरैले चिन्नुभएको छ, उहाँहरूको मन राख्ने गरी सोहि स्तरको काम गर्ने दबाब बढेको छ, म सँग थप मेहनतको विकल्प छैन’, उनले सुनाइन् ।