वरिष्ठ बलिउड अभिनेता दिलिप कुमारको निधन
वरिष्ठ बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । ९८ वर्षिय भेट्रान अभिनेताले बुधबार बिहान यो संसारबाट बिदा लिएका हुन् ।
मुम्बईको खार हिन्दुजा अस्पतालमा बुधबार बिहान साढे सात बजे उनको निधन भएको बलिउड मिडियाहरुले लेखेका छन् । दिलिपकुमारको निधनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले गहिरो समवेदना प्रकट गरेका छन् ।
दिलिपकुमार बलिउडमा ‘ट्रेजेडी किङ’को उपमाले पनि चिनिन्थे । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिस इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।
२२ वर्षको उमेरमा फिल्ममा काम सुरु गरेका उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।
दिलिप कुमारले पाँच दशकको फिल्मी करियरमा ५ दर्जन बराबर फिल्ममा काम गरेका छन् । शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम उनका चर्चित फिल्ममा पर्दछन् । उनले बलिउडमा धेरै अवार्ड पनि जितिसकेका छन् ।