बैंकिङ कसुर मुद्धामा कलाकार तथा निर्देशक शिशिर राणा पक्राउ
बैंकिङ कसुर मुद्धामा फिल्म निर्देशक तथा कलाकार शिशिर राणालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनलाई सीआईबीको टोलीले बिजुली बजारबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार, राणाले ललितपुरका एक व्यक्तिबाट ४५ लाख ऋण लिएका थिए । तर, भुक्तानी गर्दा रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । प्रहरीले राणालाई पक्राउ गरेर फैसला कार्यन्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम अदालतले सजायको फैसला सुनाएको थियो ।
दर्जनौं फिल्ममा अभिनय गरिसकेका राणा निर्माता निर्देशक पनि हुन् ।