मानसिक रुपमा स्वस्थ रहन हमालको अपिल
अभिनेता राजेश हमालले मानसिक रुपमा स्वस्थ रहन अपिल गरेका छन् । सामाजिक सञ्जालमा भिडियो सन्देश पोस्ट गर्दै हमालले कोभिड महामारीको कारण लकडाउनमा रहँदा मानसिक रुपमा असामान्य प्रभाव पर्ने भन्दै होसियार रहन आग्रह गरेका हुन् ।
विगत डेढ वर्षदेखि कोभिड–१९ महामारीले विश्वभरिका मानिसलाई आर्थिक, सामाजिक, शारीरिक र मानसिक रुपमा पिरोलेको छ, उनले भनेका छन्, ‘यस्तो अवस्थामा सबैले आफ्नो मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्नेछ ।’
‘हामी अहिले दोस्रो लहरमा छौँ र हाम्रो देश पनि लकडाउनमा छ । यो असामान्य परिस्थितिमा हाम्रो मानसिकतामा पनि केही सामान्य प्रभाव पार्न सक्छ । त्यसैले हामी सबैजना यसमा होसियार रहौं,’ हमालको भनाइ छ ।
मानसिक स्वास्थ्य बलियो र सकारात्मक सोच बनाइराख्न उनले भिडियो सन्देश मार्फत केही सुझाव समेत व्यक्त गरेका छन् ।