Logo

दीलिप र रमितले पुर्‍याए १७ सय परिवारलाई राहत, ८० काटेका वृद्धलाई अशक्त भत्ता दिने

अभिनेता द्वय दीलिप रायमाझी र रमित ढुङ्गानाको पहलमा पूर्वी मोरङ्ग जिल्लाको पथरी-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा कोरोना पीडीतलाई राहत उपलब्ध गराइएको छ । ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को तर्फबाट राहत वितरण गरिएको हो । यो संस्था नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिमले चलाएको फाउन्डेसन हो ।

डिल्ली अधिकारीको नेतृत्वमा रहेको फाउन्डेसनले यो पटक शिविरमा मास्क र सेनिटाइजर वितरण गर्न फाउन्डेसनका नेपाल कार्यकारी निर्देशक अभिनेता दीलिप रायमाजी, फाउन्डेसनका प्रबन्ध निर्देशक रुद्र बानियाँ लगायतको टिम अघिल्लो साता शिवरमा आएका थिए । सोहि बेलामा शिविरमा खाद्यान्नको अभाव पनि महसुस गरेपछि फाउन्डेसनको टिम पुन राहत लिएर शिविर पुगेको हो ।

फाउन्डेसनका गुडविल एम्वासेडर रमित ढुंगाना, दीलिप रायमाझी, रुद्र बानियाँ लगायतको टिमले १७०० घर धुरीलाई खाद्यान्न वितरण गरेको हो। प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न वितरण गरिएको हो। अघिल्लो बर्ष पनि यो फाउन्डेसनले करिव १ करोड २४ लाख नगद सहित खाद्यान्न वितरण गरेको थियो। सो राहत वितरणका लागी पनि अभिनेता दिलिप रायमाझी शिविरमा आएका थिए ।

यो सँगै फाउन्डेसनले शिविरमा रहेका ८० बर्ष काटेका वृद्धवृद्धालाई वृद्धभत्ता र शारीरिक रुपमा अशक्त रहेका शिविरका व्यक्तिहरुलाई अशक्त भत्ता मासिक रुपमा प्रदान गर्ने निर्णय समेत गरेको छ।

राहत वितरणसँगै शिविर प्रतिनिधिहरुले भुटानी शरणार्थीलाई अब नेपाली नागरिकताको माग पनि गरेका छन् । आफुहरु नेपालीको नै सन्तान भएको र लामो समयबाट नेपालमै रहेको र आफुहरु नेपाली नै भएको भन्दै नेपाली नागरिताको माग सहितको ज्ञापन पत्र अभिनेता रमित ढुंगाना मार्फत नेपाल सरकारलाई बुझाउने भएका हुन् ।

अभिनेता ढुंगानाले भुटानी शरणार्थीहरु नेपाली नै भएको र उनीहरुलाई नेपाली नागरिकता प्रदान गर्न सम्बन्धित निकायमा आफुले आवाज उठाउने बताएका छन्। सोहि कार्यक्रममा बोल्दै अभिनेता दिलिप रायमाझीले भुटानी शरणर्थीहरु नेपाली नै भएको र पुर्नवास नभएकाहरुले नेपाली नागरिकता पाउनु पर्नेमा जोड दिएका छन् ।

-मदन रिजालको सहयोगमा

Comments