निर्देशक, लेखक तथा साहित्यकार चेतन कार्कीको निधन
नेपाली फिल्मका पुराना निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा आइतबार निधन भएको हो ।
अघिल्लो हप्ताको आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान १० बजे उपचारका क्रममा निधन भएको हो ।
कार्कीको निधनमा सामाजिक सञ्जालमार्फत चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् । चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए ।
निर्देशक तथा कलाकार निर शाहले नेपाली चलचित्रका एक जिउँदो इतिहासलाई गुमाउनुपरेको उल्लेख गरेका छन् । निर्देशक दिपेन्द्र लामाले कार्कीकै कारण आफु चलचित्र क्षेत्रमा होमिएको भन्दै उनको निधनमा गहिरो दुःख पोखेका छन् ।