Logo

हिमश्रृङ्खलाबाट प्रभावित छु, फिल्म खिच्न चाहन्छुः अनुराग कश्यप

बिहिबारबाट सुरु भएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव ‘निफ’मा पहिलो दिन नै बलिउडका भेट्रान निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव सेयर गरे । अनुरागको सेसनको पर्खाइमा बसेका नेपाली फिल्म मेकरहरुमाझ उनले नेपालको तारिफसँगै सिने अनुभव सुनाउन सुरु गरेका थिए ।

भर्जुअप विधिमा सुरु भएको महोत्सवमा अनुरागले नेपालमा फिल्म छायांकन गर्ने इच्छा रहेको बताए । उद्घाटनपछिको पहिलो सेसनमा नै बोलेका उनले स्थिति सामान्य भएपछि फिल्म खिच्न नेपाल आउन सक्ने बताए । नेपालका हिमश्रृङ्खलाबाट अत्यन्त प्रभावित रहेको पनि उनको भनाई छ ।

‘म केही पटक नेपाल आएको छु । अब मलाई नेपालका हिमश्रृङ्खलामा फिल्म खिच्ने इच्छा छ । सगरमाथा जाने मन छ । मसँग हिमालमा खिच्नुपर्ने एउटा स्क्रिप्ट छ । स्थिति सामान्य भएपछि फिल्म खिच्न नेपाल आउन सक्छु’, उनले भने । उनले नेपालली मेकरले नेपालकै कथामा फिल्म बनाउनु पर्नेमा पनि जोड दिए । नेपाली फिल्मलाई लगानी जुटाउन गाह्रो नभएको उनको भनाई छ ।

‘एउटा राम्रो फिल्मले फिल्म क्षेत्रलाई विश्वमा चिनाउँछ । नेपाललाई पनि एउटा यस्तै फिल्मको खाँचो छ । अहिले नेपाली फिल्मलाई लगानी जुटाउन पनि गाह्रो छैन । राम्रो स्क्रिप्टमा लगानी गर्न विश्वका मानिसहरु तयार हुन्छन्,’ उनले अगाडि भने, ‘तर नेपाली फिल्ममा मौलिक कथा पस्कन जोड दिनुपर्छ । स्थानीय कथामा फिल्म बनायो भने त्यो विश्वको लागि नयाँ हुन्छ र त्यो विश्वले हेर्छ ।’

अनुरागले दुईवटा नेपाली फिल्म हेरेका छन्, दीपक रौनियारको ‘सेतो सूर्य’ र मीन भामको ‘कालो पोथी’ । उनले दुवै फिल्ममा मौलिकपन र आफ्नोपन रहेको भन्दै प्रशंसा गरे । ‘कालो पोथी’ उनले डिभिडी किनेर हेरेका रहेछन् । उनले स्वतन्त्र फिल्मकर्मीको रुपमा दीपक र मीनको नाम पनि लिए । बलिउडमा फरक धारका फिल्म बनाउने निर्देशकको रुपमा अनुराग परिचित छन् ।

Comments