‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ भर्चुअल प्रविधिमा ‘निफ’
नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) आजबाट सुरु हुँदै छ । कोरोना महामारीपछिको निषेधाज्ञाकाबीच यो पटक भर्चुअल माध्यमबाट आयोजकले यो पटक ‘निफ’ गर्न लागेको हो ।
‘निफ’मा पहिलो दिन बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव साट्ने छन् । अनुरागले चलचित्र सम्बन्धी आफ्नो करिअरका अनुभवहरू सुनाउने छन् । विभिन्न सेसनमा चल्ने ‘निफ’ फेष्टिभल नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ हुने आयोजकले बताएको छ । जहाँ चलचित्रहरुलाई अनलाइन माध्यमबाट प्रसारण गरिनेछ, यो पटक दर्शकले घरमै बसेर चलचित्र हेर्न सक्ने सुविधा प्रदान गर्न लागिएको ‘निफ’का अध्यक्ष केपी पाठकले जानकारी दिए ।
“भौतिक रुपमै फेष्टिभल गर्ने तयारी भइरहेको थियो । यसकै लागि हामीले नियमित सेड्युलबाट सारेर वैशाखमा ल्याएका थियौं, तर परिस्थिति अनुकुल नभएकाले यसपटक हामीले अनलाइन गर्न बाध्य भयौं,” अध्यक्ष पाठक भन्छन्, “तर, यसले हामीलाई अझ धेरै दर्शकसम्म पुग्ने अवसर सिर्जना गरिदिएको छ । पहिला हामीसँग फेस्टिभल आयोजना स्थलसम्म आउने दर्शक मात्र हुन्थे भने अब संसारभरिका दर्शक हामीसँग हुनेछन् । यसले निफलाई दर्शकका पहुँचको हिसाबले पनि विश्वव्यापी बनाउनेछ भन्ने विश्वास गरेका छौं ।”
नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत तीनवटा मध्ये एकले उत्कृष्ट चलचित्रको १ लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्री ट्रफी पाउने छन् ।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका चलचित्रलाई अलग्गै विधामा प्रतिस्पर्धा गराइ अवार्ड वितरण गर्न लागिएको आयोजकले जनाएको छ ।
कोभिड–१९ले पारेको प्रभावमा बनेका यस्ता चलचित्रले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।
सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहितको वाग्मती अवार्डलाई यसअघि झै निरन्तरता दिन लागिएको आयोजकले बताएको छ ।