स्वास्थ्य बिग्रेपछि मदनकृष्ण पुनः अस्पताल भर्ना
वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पुनः अस्पताल भर्ना गरिएको छ । श्रेष्ठको अक्सिजन लेवलमा कमी आएपछि उनलाई बुधबार पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
आठ दिन अस्पतालमा उपचारपछि गत आइतबार मात्रै श्रेष्ठ घर फर्किएका थिए । घर फर्किएका उनको स्वास्थ्यमा समस्या देखिएपछि फेरी अस्पताल लगिएको पारिवारिक श्रोतले बताएको छ ।
श्रेष्ठको अक्सिजन लेवल कम भएपछि चिकित्सकको निगरानी बढाउन अस्पताल पुर्याइएको हो । उनको अक्सिजन लेवल ८४ मा झरेको थियो । श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन समेत देखिएकोले चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय लिएको बताइएको छ । श्रेष्ठको हालसम्म पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छैन् ।
उनका परिवारका अन्य सदस्य भने घरमै होम आइसोलेसनमा छन् । यसअघि गत बैशाख १० गते अस्पताल भर्ना भएका श्रेष्ठ ८ दिनको बसाइपछि घर फर्केका थिए । वैशाख ६ गते श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो।