२५ केजी मोटाउन अस्मिताको कसरत !
कथाको माग अनुसार कलाकारले पात्र सुहाउँदो अभिनय कला मात्र निखारेर पुग्दैन, पात्र सुहाउँदो हाउभाउ र शारिरिक बनाउट पनि निकाल्न सक्नुपर्छ । फिल्म रिलेटेड समाचारमा विभिन्न समयमा अभिनेता अभिनेत्रीहरुले यति केजी ‘वेट गेन’ गर्नुपरेको देखि यति केजी ‘वेट लूज’ गर्दै भन्ने समाचार हाम्रो लागी नयाँ होइनन् ।
तर अनौठो के छ भने ‘बाह्र सत्ताइस’ अभिनेत्री अस्मिता लामिछाने यतिबेला थोरै होइन् २५ केजी तौल बढाउने कसरतमा छिन् । आगामी भदौबाट फ्लोरमा जाने नयाँ प्रोजेक्टमा उनको तौल ७० केजी पुग्नुपर्ने स्कृप्टको माग र निर्माण टिमको सर्तपछि उनि यतिबेला ‘वेट गेन’ गर्ने सम्पुर्ण तयारीमा व्यस्त छिन् । अभिनेताहरुले यति ठुलो ‘वेट गेन’ गर्नुपरेको नौलो नभएपनि अभिनेत्रीको नाममा यो कहिँकति नौलो अभ्यास लाग्नसक्छ ।
महिला प्रधान भनिएको उक्त प्रोजेक्टमा लिडिङ लेडी बन्दै गरेकी अस्मिता एक महिना पहिले ४५ केजी थिइन् । यो बीचमा १० केजी तौल बढाएको बताउने उनि अझै १५ केजी मोटाउने अभियानमा आफु जुटेको सुनाउँछिन् ।
अण्डर रेटेड कलाकारमा गनिने अस्मिता भन्छिन्, ‘कुनै समय सिनेमा र मोडलिङलाई ‘प्रफेक्ट स्लिम फिगर’को माग हुन्छ, मेन्टेनको लागी कसरत गरिन्छ, अहिले २५ केजी तौल बढाउने डिमाण्ड कथाले माग्यो, त्यसको कसरतमा छु ।’ रिल लाइफमा आफुलाई स्थापित गराउन लागि परेकी अस्मिता सुनाउँछिन्, ‘कथाको काग अनुसार जे गर्नुपर्छ त्यसको लागी नाइँ पक्कै भन्ने छैन, तर आफु सुहाउँदो र चित्तबुझ्दो स्कृप्ट नै पहिलो प्राथमिकता रहनेछ ।’