Logo

गीतसंगीतमा अनौठा रेकर्डः १८ अक्षरमा गीत लेखेर विश्व किर्तिमान !

नेपाली गीतकार डा. डि. आर (धर्मराज) उपाध्यायले गीत संगीतबाट विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने एक व्यक्तिको किर्तिमानी बनाएका छन् । विभिन्न फरक फरक शैलीका गीत, संगीत तयार गरेर उनले विश्वका तीन दर्जन भन्दा बढी विश्व रेकर्ड संस्थाबाट ५१ वटा विधामा विश्व रेकर्ड बनाएर संसारलाई यो विधामा उछिनेका छन् ।

यस अघि विभिन्न ३२ विधामा गिनिज अफ वर्ल्ड रेकर्ड सहित विभिन्न रेकर्ड बनाएका गीतकार डा. डि.आर. (धर्मराज) उपाध्यायले फेरी गीत संगीत सम्बन्धि थप १९ वटा विधामा नयाँ रेकर्ड राखेका छन् ।

यस पटक उनले १५० भन्दा बढी देशको पर्यटन स्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी रेकर्ड र रिलिज गरेर, १७५ देशका मुद्राहरुको नाममा गीत संगीत तयार गरेर, क देखि ज्ञ सम्म ३४ वटा प्रत्यक वर्णको गीत लेखी पुस्तक ल्याएर नयाँ नयाँ रेकर्ड बनाएका हुन् ।

यस्तै ५५ वटा फरक फरक फूलको नाममा गीत लेखेर रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गरी बनाई रेकर्ड गरेर उनल नयाँ किर्तीमानी बनाएका हुन् । यस्तै आफ्ना गीतहरु चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोष्टकार्डमा छापेर, सकरात्मक सोचमा फाईदासम्बन्धि गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकै पटक गीत रेकर्ड गराउने जस्ता थुप्रै अनौठा किर्तिमान उनले आफ्नो नाममा लेखाएको दाबी गरेका छन् ।

विश्व रकेर्ड प्रमाणपत्र प्रधान गर्न आयोजित कार्यक्रममा अग्रज गायिका ज्ञानु राणा, गायक तथा संगीतकार सागर अधिकारी, गायक जुगल आचार्यले आफ्ना विमोचित एक एक वटा गीत सुनाए । विश्व रेकर्डमा परेका आफ्ना गीतहरु उनीहरुले कार्यक्रममा सुनाएका थिए ।

सो कार्यक्रममा उपाध्यायको विश्व किर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीतिसँग्रह सपनाको महल, धडकन, धर्ति र जीवन, प्रनिभाको पनि पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले लोकापर्ण गरे । कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री चन्दले यसरी गीत संगीत सम्बन्धि ५१ वटा विश्व रकेर्ड राख्ने डा. उपाध्याय विश्वकै विरलै श्रष्टाहरुमा पर्ने बताए । देशलाई चिनाउन डा. उपाध्यायले गरेको यो कार्य जति प्रशंसा गर्दा पनि कमै हुने भनाई पूर्व प्रधानमन्त्री चन्दको थियो ।

Comments