हाँस्य टेलिचलचित्र ‘४ दुना ९’ बिहीबारदेखि प्रसारणमा आउने
नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको नयाँ पर्यटकिय सामाजिक हाँस्य टेलिचलचित्र ‘४ दुना ९’ आउँदो बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने भएको छ । नेपालको ७७ वटै जिल्लामा बिभिन्न समयमा खिचिने यस टेलिचलचित्र यस पुस २३ गतेबाट प्रत्येक बिहीबार साँझ ७ बजे प्रसारण हुने बताइएको छ । मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजीक कार्यक्रममा प्रसारण समय र टेलिभिजनबारे जानकारी गराइयो ।
कार्यक्रममा अतिथीको रुपमा उपस्थित भएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘४ दुना ९’ टिमले गरेको भन्दै कामको प्रसंसा गरे । उहाँले नेपालको पर्यटकिय क्षेत्रहरुलाई एक टेलिचलचित्रमार्फत देशब्यापी बनाउन खोजेको भन्दै सम्पुर्ण टिमलाई धन्यवाद ब्यक्त गरे । ‘पर्यटन बोर्डले गर्नुपर्ने काम कलाकारहरुले गर्नुभएको छ, यो त हाम्रो लागी निकै राम्रो कुरा हो । पर्यटन बोर्डले गर्न सक्ने सहयोग गर्नेछ’ रेग्मीले भने ।
पर्यटकिय सामाजिक हाँस्य टेलिचलचित्र ‘४ दुना ९’को पहिलो चार भाग नेपालको पर्यटकिय क्षेत्र जुम्ला र मुगुमा खिचिएको कार्यक्रममा जानकारी गराइयो । यस्तै कार्यक्रममा जुम्ला र मुगुका मनोरम दृश्य समेटिएको प्रोमो पनि देखाइएको थियो । टेलिचलचित्रका निर्देशक छेडुप लामाका अनुसार काठमाडौंबाट जाने केहि कलाकारसँगै अन्य अधिकांश स्थानिय कलाकारको अभिनय रहेको छ ।
टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले छायांकनको क्रमको अनुभव सुनाउँदै भने, ‘सुरुको चार भाग खिच्न हामी जुम्ला र मुगुमा पुगेका थियौं । त्यहाँको मौलिकताको प्रसंसा गरेरै सक्दिन, त्यहाँको रितिरिवाज, रहनसहनले मेरो मन तानेको छ । हामीले त्यहि मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौं । दर्शकलाई अवस्थ मन पर्नेछ ।’
३० मिनेटको एक भाग समेटिने यस टेलिचलचित्र प्रत्येक जिल्लामा ३ देखी ५ भाग सम्म छांयाकन हुने बताइएको छ । पर्यटनलाई सहयोग हुने हेतुले निर्माण गरिएको यो टेलिचित्रमा हरेक जिल्लाभित्र पर्ने प्रमुख हिमश्रृंखलाहरु, तालहरु, नदि नालाहरु, मन्दिर, गुम्बा, चैत्यहरु, प्रमुखजात्रा, पर्व, मेलाहरु, यहाँबसोवास गर्ने समुदायका लोक नृत्यहरु, जाति बिशेष बाजा तथा भेषभुषा, गरगहना तथा लोक गीत संगीत, व्यवस्थीत पर्यटक लक्षित होटल तथा लजहरु, यातायाको सुविधाको लागि राजमार्गहरु, बिकाश निर्माणका कार्यहरु आदि समेटिने बताइएको छ ।
यस टेलिचलचित्रमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ ।