‘गणपति’ घोषणा, चोपेन्द्रसँग मेनुकाले रोमान्स गर्ने !
सविन अधिकारीको निर्देशनमा बन्ने गरि फिल्म ‘गणपति’ घोषणा भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मले भगवान र मानिसबीचको फरक देखाउनेछ । माघ २ गतेबाट छायांकन सुरु हुने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् ।
लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्मको निर्माण गर्नेछन् । अ बिग म्यान फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुषाल उर्फ ‘चोपेन्द्र’, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल, शुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ । तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन हुने फिल्मलाई हरिबहादुर घलेले खिच्ने जिम्मेवारी पाएका छन् ।
बिक्रम स्वाँरको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहने फिल्ममा शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला र किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकरको रुपमा रहेका छन् । फिल्मलाई गोविन्द शाहीले देशभर वितरण गर्नेछन् ।
फिल्मको गीतमा अनिस अधिकारीको शब्द तथा संगीत रहनेछ भने अनिश अधिकारी र देवेन्द्र बब्लुले आवाज भर्नेछन् । त्यस्तै, स्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टले फिल्मको ओभरसिज राइट्स लिएको छ । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध र प्रचार नगरिने स्पष्ट पारे । ‘मान्छे र भगवानबीचको फरकलाई फिल्ममा देखाउनेछौं,’ उनले भने ।