कायस्थको निर्माणमा नेपाल भाषा फिल्म ‘लुँयागु तक्मा’ घोषणा
नेपाल भाषामा निर्माण हुने फिल्म ‘लुँयागु तक्मा’को राजधानीमा आयोजित एक भव्य समारोहकाबीच शुभमुर्हत गरिएको छ । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा अभिनेता नीर शाहको विशेष उपस्थितिमा फिल्मको घोषणासँगै मुर्हत गरियो ।
सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहने फिल्मलाई गोपालकाजी कायस्थले निर्माण गर्नेछन् । कार्यकारी निर्मातामा रुमन जोशी रहेका छन् । देवेन्द्र महर्जनको छायांकन र सविन शाक्यको सहनिर्देशन रहने फिल्म सामाजिक विषयवस्तुमा केन्द्रित रहने बताएको छ ।
फिल्ममा विशेषतः एक पिताले आफ्ना सन्तानहरुको उन्नतिका लागि आफ्नो जिम्मेवारी बहन गरेर हुर्काउने तर छोराछोरीहरुलाई भने माया बढी हुने विषयलाई मार्मिक ढंगले प्रस्तुत गरिने निर्देशक तुलाधरले बताए ।
फिल्ममा मानकृष्ण वावा, सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर, रोजिना सुवाल, रञ्जना सितिखु लगायत नवकलाकारहरु रिजन महर्जन र हसना महर्जनको मुख्य भूमिका रहनेछ ।
नेपालभाषाको संगीत तथा कला क्षेत्रमा लोकप्रिय तथा ख्यातिप्राप्त कलाकार मानकृष्ण वा वाको स्वास्थ्य समस्यामा सहयोग गर्ने उद्देश्यले फिल्म निर्माण गर्न लागिएको हो । मानकृष्ण नै फिल्ममा लिड अभिनयमा रहनेछन् । विशेषतः भजन संगीतमा रुचि राख्ने मानकृष्णका नेपालभाषाका धेरै लोकप्रिय गीतहरु छन् भने नेपालभाषाको टेलिसिरियल ‘ख्वताबजि’मा ‘देपां बिइला..’ थेगो सहितको उनको अभिनय धेरैले रुचाएको अभिनयमा पर्छ ।
नेपालभाषाको संगीत र कला क्षेत्रको उत्थानका लागि आफ्नो जीवन समर्पण गर्दै आएका कलाकार वा वालाई पछिल्लो समय देखिएको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै वा वाको स्वास्थ्य संरक्षण कोषको लागी सुखावती मल्टी प्रोडक्सनले यो फिल्म निर्माणको तयारी गरेको निर्माता कायस्थले बताए । फिल्म माघपछि फ्लोरमा जानेछ । झण्डै ५० लाख बजेटको फिल्म निर्माण पश्चत च्यारेटी र विभिन्न शोजहरुबाट संकलित रकम मानकृष्णको स्वास्थ्य संरक्षण कोषमा जम्मा गरिने बताइएको छ ।
तश्विर श्रोतः बिके जलमी (हाइलाइट्स काठमाडौं)