प्रेक्षाको स्वरमा भरियाको वास्तविक पीडा |भिडियो
हिन्दू नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर गायिका प्रेक्षा गौतमको स्वर रहेको गीत ‘भरिया’ सार्वजनिक गरिएको छ । भरिया जीवनको यथार्थ चित्रण गरिएको उक्त गीत सोमवार शशीकुञ्ज नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
मानवशास्त्री तथा समाजशास्त्री डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ग्ने’ को रचना रहेको सो गीतमा गायिका गौतमले संगीत भरेकी छिन् । यस्तै गीतको एरेन्जमेन्ट शीलाबहादुर मोक्तानले गरेका छन् । अझै पनि नेपालका दुर्गम भेगमा भरियाहरुले भारी बोकेरै सामान ओसार्ने गर्छन् । रचनाकार जमरकट्टेलले यो गीतमा लहान, जिरी तथा नेपालका पूर्वी क्षेत्रमा भारी बोकेर गुजारा चलाउने भरियाको कथा उनेका छन् ।
गीतका बारेमा रचनाकार जमरकट्टेल भन्छन् – ‘कामका सिलसिलामा पूर्वका विभिन्न स्थानमा जाने अवसर पाएँ । त्यतिबेला भारी बोक्ने भरियाहरुलाई देखेर गीत लेख्ने इच्छा जाग्यो ।’ रचनाकार जमरकट्टेलले वास्तविक भरियाहरुको सम्मानमा यो गीत रचना गरेको बताए ।
यता गायिका प्रेक्षा गौतमले गीतका शब्दले मन छोएकाले गीत गाएको प्रतिक्रिया दिइन् । ‘यति मीठो सिर्जना कमै लेखिएको पाइन्छ, गीतले निकै मन छोयो, शब्द पढेपछि म निकै उत्साहित बनेकी थिएँ,’ उनले भनिन् । सीता सुवेदी कट्टेलले निर्माण गरेको गीतको भिडियोमा लहान, जिरी लगायत नेपालका मनोरम दृश्यहरु देख्न सकिन्छ । साथै गीतमा वास्तविक भरियाहरुलाई पनि देख्न सकिन्छ । रचनाकार जमरकट्टेलको निर्देशन रहेको भिडियोलाई अर्घेलो थापाले सम्पादन गरेका हुन् ।
https://youtu.be/p9G3sDmC7cg