‘प्रसाद २’ छायांकन अन्यौल
लकडाउन खुला भएपनि चलचित्र क्षेत्रको बारेमा सरकारले हालसम्म पनि सम्वोधन नगर्दा प्रदर्शन र फ्लोरमा जाने दुबै फिल्मलाई द्विविधा बढेको छ । रिलिज मिति घोषणाको लागी पर्खिएका फिल्मसँगै छायांकनमा जाने निर्णय गरेर बसेका सबै फिल्ममा अन्यौलता कायमै छ ।
स्कृप्टको काम सकाउँदै कलाकारसँग सम्झौता गरेर सरकारी निर्णय पर्खिएको फिल्म ‘प्रसाद २’ कहिले फ्लोरमा जाने टुंगो छैन । निर्माता सुभाष थापा भन्छन्, ‘सरकारबाट ग्रिन सिग्नल आउनासाथ सुटिङमा जाने सोच बोकेका थियौं, हालसम्म पनि पर्खाइ कायम छ ।’ यसअघि भदौ पहिलो साता फ्लोरमा गएर दशैं पहिले सुटिङ सकाउने लक्ष्य बोकेको उनले खुलाए । तर अब दशैं, तिहार अघि त्यो संभव नदेखिएको पनि उनको बुझाइ छ ।
सौरभ चौधरीले निर्देशन गर्ने फिल्मको स्कृप्ट सञ्चारकर्मी सुशिल पौडेलको हो । यसअघि रिलिज भइ चौतर्फी तारिफ भेटेको ‘प्रसाद’ फिल्मको प्रिक्वेलको रुपमा ‘प्रसाद २’ बन्न लागेको लेखक पौडेल बताउँछन् । यो फिल्मको सबैजसो छायांकन बाग्लुङमा हुनेछ । ‘प्रसाद’लाई यसअघि दिनेश राउतले निर्देशन गरेका थिए । फिल्ममा यो पटक पनि विपिन कार्की, नम्रता श्रेष्ठ, निस्चल बस्नेत लिड अभिनयमा हुनेछन् ।
त्यसो त छायांकनको दौरान लकडाउनको कारण रोकिएका धैरै फिल्मले पनि छायांकन सुरु गर्न सकेका छैनन् । ‘ए मेरो हजुर ४’, ‘२ नम्बरी’, ‘के घर के डेरा’ लगायतका फिल्म पनि पुनः फ्लोर जान तथा छायांकन सुरु गर्न उपयुक्त समयको पर्खाइमा छन् ।