फिल्मकर्मीको चित्कार, लौ न सरकार !
केहि दिन पहिले धमाधम नेपाली फिल्मकर्मीले भारतमा फिल्म हल खुल्न दिने गरिएको निर्णय सेयर गरे, सामाजिक सञ्जालमा विभिन्न स्टाटस लेखे । कतिले नेपालमा कहिले भनेर प्रश्न गरे भने कतिले सरकार समक्ष फिल्म हल खुलाउन बिन्ति गरे ।
त्यसो त सरकारले समुहमा हुने जुनकुनै प्रकारका गतिविधि तत्काल नखोल्ने निर्णय लिएसँगै फिल्म हलहरु कहिले खुल्ने टुंगो छैन । नेपालमा कोरोना संक्रमितको संख्या ८० हजार नजिक छ । पछिल्लो समय लगातार चार अंकमा संक्रमितको संख्या थपिँदै जाँदा समुहमा हुने गतिविधि तत्काल सुचारु नगर्ने निर्णय गरेर सरकार चुप छ ।
उता ५० लाख बढि संक्रमित कटेको भारतले सर्वसाधारणहरुको दैनिकी सामान्य बनाउँदै अघि बढ्दा सिनेमा हल पनि यहि अक्टुवर १५ बाट खुलाउने निर्णय गरेको छ । ५० प्रतिशत अकुपेन्सीमा चलाउन अनुमति दिएको छ । नेपाली फिल्मकर्मीहरुले यहि कुरालाई जोडेर नेपालमा ढिलाइ किन भनिरहेका छन्, भने कतिले र संक्रमितको संख्या तोकेर भारत र नेपालको तुलना गरेका छन् ।
त्यसो र सरकारको निर्णय पुर्णतः कार्यान्वयन छ भन्ने अवस्था पनि छैन । समुहमा खेलिने फुटबल, फुटसल जस्ता खेलहरु स्वतस्फुर्त जस्तो सुचारु छन्, रेष्टुरेन्ट, होटलहरुमा भिड बढ्दो छ । सार्वजनिक यातायातसम्म सुरु भइसकेको छ । तर सिनेमा हल सञ्चालनबारे सरकारले अझै कुनै दायरा बनाउन सकिरहेको छैन । त्यसैले पनि फिल्मकर्मीहरुले सरकारी बेवास्तमा आक्रोश पोखिरहेका छन् ।
चलचित्र निर्माता, वितरक तथा हल सञ्चालक प्रदिपकुमार उदयले गएको बिहिबार दिउँसो स्टाटस लेखेः ‘लौ न सरकार भारतमा त हल खुल्ने भएछ त OCT 15 (असोज २९)। अव यता खोल्दिम न ।’ उदयले उता कै निर्णय कुरेको हो भने यता पनि अब निर्णय गरिदिए भयो भनि सरकारलाई आग्रह मात्र गरेका छैनन्, हल सञ्चालकहरु दर्शकको स्वास्थ्य प्रति सचेत रहेको भन्दै सुरक्षित स्वास्थ्य उपाय अपनाएर चलचित्र घर संचालन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
फिल्म हल बन्द भएको ७ महिना पुग्दै गर्दा उधोगले करोडौंको घाटा खेपिसकेको छ । कतिपय हल बन्द हुने अवस्थामा छन् । भाडा तिर्न र कर्मचारी पाल्न समेत नसक्ने अवस्थामा पुगेका छन् । हल खुला हुँदै गर्दा केहि हलसम्म पनि राहतको स्वास फेर्न पाउने आशा हल सञ्चालकको छ । तर खुला हुँदै गर्दा पनि तत्काल ठुला नेपाली फिल्म प्रदर्शन हुने अवस्था नरहेकोले विदेशी फिल्मकै भर परेर दर्शक पर्खिने अवस्था फिल्म हललाई हुनेछ ।
सार्वजनिक यातायातदेखि होटल रेष्टुराँ खुलिसक्दा फिल्म हललाई पनि खुला गर्ने निर्णयलाई अब सरकारले ढिला गर्नु आवश्यक देखिँदैन, निर्माता सुभाष थापा भन्छन्ः ५० प्रतिशत अकुपेन्सी, मेडिकल सुरक्षाको न्युनतम मापदण्ड पुरा गर्न हल सञ्चालक तयार हुनपर्छ ।’ थापा फिल्म ‘प्रसाद २’ को स्कृप्ट सकेर फ्लोरमा जाने अनुकुल समयको प्रतिक्षामा छन् । यतिबेला उदय र थापा जस्तै सबैजसो फिल्मकर्मी सरकारको निर्णयको पर्खाइमा छन् ।