Logo

कोरोना कहर र रिलिजको होडबाजीः समाचारको भोक ?

फिल्मीनेपाल । विश्व नै कोभिड १९ को चपेटामा परिरहँदा सर्वाधिक प्रभावित क्षेत्र मध्येको एक सिनेमा उधोग पनि हो । विश्व सिनेमा नै यतिबेला संकटसँग जुधिरहेको छ । कुनै देशमा सिनेमा हल खुल्यो भन्ने खबर फिल्मकर्मीहरुलाई नयाँ समाचार बनिरहेको छ । नेपाली फिल्म क्षेत्र पनि यो प्रभावबाट टाढा छैन ।

दुई पटकसम्मको लकडाउन अनि निषेधाज्ञाले थला परेको नेपाली फिल्म उधोग कहिले उठ्ने हो अझै टुंगो छैन । फ्याट्टफुट्ट म्युजिक भिडियोहरु छायांकनको क्रम बढिरहँदा फिल्मकर्मीहरु भने फ्लोरमा जानलाई थप सहज परिस्थितिको पर्खाइमा छन् । तर हल खुल्ने, फिल्म प्रदर्शन हुने त छोडौं, छायांकन कै टुंगो नहुँदा पनि नेपालमा फिल्म निर्माणको घोषणा गर्ने र प्रदर्शनको मिति तोक्ने होडबाजी भने रोकिएन । त्यसो त लकडाउन खुलेपछि मात्रै चलचित्र विकास वोर्डबाट १८ वटा फिल्मले निर्माण इजाजत लिएसकेका छन् ।

लकडाउनकै बीचमा कति निर्माता निर्देशकले फेसबुकबाटै आफ्ना फिल्मको रिलिज परिवर्तन गरे भने कतिले त नयाँ फिल्म निर्माणको घोषणासँगै प्रदर्शन मिति समेत तोकिसके । निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री शर्मिला पाण्डेले विकास वोर्डमा ‘लकडाउन’ र
‘चिसो मान्छे’ नाममा फिल्म दर्ता गर्दै एक वर्षपछिको प्रदर्शन मिति कब्जा गरिसकेका छन् । जब की फ्लोरमा जानेसम्म टुंगो छैन, कलाकार छनोट नै बाँकी छ । गत बर्षको अन्तिम शुक्रबारलाई प्रदर्शन तोकेको ‘प्रेमगीत ३’ निर्माण टिमले यो बर्षको अन्तिम साता (नयाँ बर्ष कब्जा गर्दै ) लाई रिलिज तोकेको छ, परिस्थिति कस्तो रहन्छ, यहाँ पनि वास्ता छैन । यसै साता ‘तीनजन्तु’ नामको फिल्मको टिजर समेत रिलिज गर्दै आगामी पुष १७ मा रिलिज गर्ने घोषणा गरिएको छ । ‘लक्ष्मीपूजा’ नामको फिल्मले त दशैं रिलिज भन्दै प्रचार गरिसकेको छ ।

बिदा छोप्न र अनुकुल मिति कब्जा गर्न फ्लोरमा नजाँदै प्रदर्शन मिति तोक्ने नेपाली निर्माताको परिपाटी त पुरानै हो, तर विश्व बजार नै महामारीसँग जुधिरहँदा फिल्म उधोग कहिले उठ्ने अनिश्चित बनिरहेको परिस्थितिमा समेत अनेक मिति तोक्नुलाई निर्माता निर्देशकको प्रचारबाजी शिवाय केहि मान्न सकिँदैन । कतिपय फिल्मकर्मी हप्तैपिच्छे मिडियामा समाचार आओस् सम्म चाहन्छन् त्यसकै लागी पनि समाचारको बहाना र फण्डा निकाल्ने परिपाटी पनि नेपाली फिल्म उधोगमा पुरानो बनिसकेको छ ।

Comments