ड्रग्स प्रकरणः चार हिरोइनलाई क्लिन चिट ?
दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उत्पन्न ड्रग्स प्रयोग प्रकरणमा मुछिएका अभिनेत्रीहरुसँग ‘नार्कोटिस कन्ट्रोल ब्यूरो’ (एनसिबी) ले बयान सकाएको छ । पछिल्लो दुई हप्तायता लगातार हेडलाइन बनिरहेको यो प्रकरणमा मुछिएका अभिनेत्रीहरुले अब भने राहतको स्वास फेर्ने वातावरण बनेको बलिउड मिडियाले लेखेका छन् ।
एनसिबीसँगको सोधपुछमा संलग्नता देखिएका दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अलि खान, राकुलप्रित सिंहसँगै दीपिकाकी मेनेजरसहित सबैले एकै प्रकारको बयान दिएको बताइएको छ जसले उनिहरुले ड्रग्स प्रयोग गरेको कुनै प्रमाण नभेटिएको दाबी गरिएको छ ।
दीपिका र मेनेजर करिष्मा प्रकाशले लागु औषधको कोड नाम उल्लेख गरेर चुरोटलाई सम्बोधन गर्ने गरेको र त्यससम्बन्धि च्याटलाई नै लिएर यो सबै कुरा निस्केको बयान दिएका छन् । रमाइलोको लागी तल्लो क्वालिटिको चुरोटलाई ‘माल’, मसिनो प्रकारको चुरोटलाई ‘वीड’ को कोड दिएर कुराकानी मात्रै गर्ने गरेको उनिहरुले बताएका छन ।
सबै अभिनेत्रीले दिएको बयानलाई लिएर एनसिबीले थप छानबिन आवश्यक नरहेको निष्कर्षमा पुगेकोले सम्बन्धित चारै अभिनेत्रीहरुले ‘क्लिन चिट’ पाउने दाबी बलिउड मिडियाले गरेका छन् । एनसिबीले सबै अभिनेत्रीको मोबाइल जफत गरेर अनुसन्धान गर्दा पनि यो सम्बन्धि कुनै प्रमाण फेला नपरेको बताएको छ । उता सुशान्तकी प्रेमिका भनिएकी रिहा चक्रवर्ती र उनका भाइ शोविक चक्रवर्ती भने अक्टुवर ६ सम्मलाई हिरासतमा नै रहनेछन् ।