‘हिजो आजका कुरा’ रिलिज पोस्टपोण्ड, कोरोनाबाट बच्न सार्वजनिक अपिल
सन्तोष पन्तको निर्माणमा बनेको फिल्म ‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगीत भएको छ । कोरोना भाइरसका कारण विश्व नै लकडाउनको अबस्थामा रहँदा ‘हिजो आजका कुरा’ निर्माण टिमले बैशाख १२ लाई तोकेको प्रदर्शन स्थगीत भएको अफिसियल स्टेटमेन्ट निकालेको हो । यसै पनि हाल देशमा कुनै फिल्म रिलिजको अवस्था छैन ।
निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले विज्ञप्ती जारी गरि अफिसियल जानकारी गराएको छ । सन्तोष पन्तको कथा र निर्माणमा साकार पन्त निर्देशित फिल्मको रिलिज पोष्टपोण्डसँगै निर्माण टिमले कोराना भाइरसबाट बच्नका लागि संयमता अप्नाउन सबैलाई आग्रह गरेको छ ।
‘यहाँहरुले हामी र हाम्रो चलचित्रप्रति देखाउनु भएको माया र भरोसाप्रति हामी नतमस्तक छौं । जनजीवन सामान्य अवस्थामा फर्किएपछि हामी हाम्रो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्ने छौं,’ विज्ञप्तीमा निर्देशक पन्तले उल्लेख गरेका छन् । उनले केही समयअघि सार्वजनीक आफ्नो फिल्मको ‘माया जदौ’ गीतलाई दर्शकले अत्याधिक मन पराएकाले आफूहरुलाई थप हौसला मिलेको र भबिष्यमा समेत अझ बढी माया र साथ पाउने आशा ब्यक्त गरेका छन् ।
समसामयिक बिषयमा निर्माण गरिएको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् । रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ ।