‘सेन्टी भाइरस’ रिलिजको छेकोमा धुर्मुसको बठ्याइँ !
चर्चित सामाजिक अभियन्ता जोडी कलाकार धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’ रिलिजको तयारीमा छ । भोली अर्थात शुक्रबारबाट प्रदर्शनको लागी तयार यो फिल्मको विजनेस र समिक्षालाई लिएर फिल्मवृत्त तथा फिल्म शुभचिन्तकहरुमा कौतुहलता बड्दो छ ।
त्यसो त फिल्मको लाभको ५० प्रतिशत रकम निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा खर्चिने घोषणाकाबीच यो फिल्मप्रतिको प्रतिक्षा ब्यग्र हुनु स्वभाविक पनि छ । यो बीचमा फिल्मको प्रचार प्रसारमा व्यस्त निर्माता कलाकार धुर्मुसले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिइरहे । राजनीतिक विषय उठान गरेको कमेडी जनराको फिल्म मनोरञ्जनको उत्कृष्ट खुराक बनेको उनको कथन थियो । तर प्रदर्शनको अघिल्लो दिन बिहिबार भणे मिडियामाझ उनले आफ्नो भनाइ र फिल्मको बचाउ गरेका छन् ।
क्रिकेटर सन्दीप लामिछानेसहितको एक कार्यक्रमका बोल्दै धुर्मुसले भने, ‘फिल्म राम्रो बन्यो बनेन भन्दा पनि हाम्रो योगदान रङ्गशालालाई हुनेछ भन्ने हिसाबमा हलसम्म आइदिनुहुन्छ भन्नेकुरामा हामी आशावादी छौँ ।’ उनले दर्शकसँगै विभिन्न खेल तथा अन्य कुनैपनि विधासँग जोडिनुभएका सबैलाई रङ्गशाला सम्झेर हलसम्म आउन अपिल पनि गरे । मनोरञ्जन त हुने छ नै राष्ट्रको लागी पनि योगदान जानेछ, धुर्मुसले भनेका छन् ।
धुर्मुस सुन्तलीको प्रस्तुतिमा बनेको फिल्म ‘सेन्टी भाइरस’लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । फिल्ममा दयाहाङ राई, विल्सनबिक्रम राई, सन्दीप क्षेत्री, राजाराम पौडेल लगायत पनि लिड अभिनयमा छन् । फिल्म हलमा आइसकेपछि आउनसक्ने समिक्षा तथा प्रतिक्रिया सोचेर धुर्मुसले रिलिजको अघिल्लो दिन राम्रो नराम्रो भन्दा पनि रङ्गशाला शब्द छोडेर फिल्मको बचाउ गरे, यसैलाई त भन्छ होला नी बठ्याइँ र चतुर्याइँ हैन त धुर्मुस जी ! कि आफ्नै कन्टेन्टसँग विश्वास लागेन ?