Logo

पर्दामा पुनः एकसाथ दयाहाङ, विपिन र वर्षा, ‘के घर के डेरा’ निर्माण घोषणा

पैँतिस वर्षअघि निर्माण भएको प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर सुव्रतराज आचार्यले निर्देशन गर्नेगरी फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गर्दै फिल्मको घोषणा गर्यो ।

फागुन अन्तिम साताबाट फ्लोरमा जाने बताइएको फिल्ममा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, लुनिभा तुलाधर, आर्सिना भट्टराई लगायत लिड अभिनयमा रहनेछन् । पछिल्लोपटक विपिन, दयाहाङ र वर्षा एकसाथ फिल्म ‘जात्रै जात्रा’ मा देखिएका थिए । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा यो फिल्म निर्माण हुनेछ ।

‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् । त्यस्तै, यम प्रसाद ओली सह-निर्मातामा रहेका छन् । ‘हरि’ फिल्मका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन् ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने फिल्मलाई दिर्घ वीर गुरुङले खिच्ने जिम्मेवारी पाएका छन् । यस्तै, मित्र डि. गुरुङको सम्पादन रहने फिल्ममा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । फिल्मलाई रोहित-रत्न (आरआर) ले वितरण गर्दैछन् ।

‘के घर के डेरा’ निर्देशक आचार्यको तेस्रो प्रोजेक्ट हो । यसअघि उनले ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए भने उनले दर्जनौँ हिट गीतको भिडियो समेत निर्देशन गरिसकेका छन् । उनले अघिल्ला फिल्ममा आफूबाट भएका कमी कमजोरी यो फिल्ममा सुधार गर्ने बताए । कलाकारहरुले स्कृप्टले मन छोएको कारण फिल्म गर्न तयार भएको धारणा राखे ।

Comments