‘कबड्डी ३’ पाइरेसीको शिकार, फेसबुकमा आयो पुरै फिल्म
हिट सिरिज ‘कबड्डी’को तेश्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ पाइरेसीको शिकार भएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको १ घण्टा ५३ मिनेट लामो पुरै फिल्म अनाधिकृत रुपमा फेसबुकमा अपलोड भएको छ ।
हिजो बुधबार नै भाञ्जा मोबाइल प्ले स्टेशन सेल्स एण्ड रिपेयर सेन्टर नामको पेजमा अपलोड भएको फिल्म त्यसयता बिहिबारसम्म अन्य विभिन्न अकाउण्टहरुमा समेत अपलोड भएको छ ।
यो विषयमा कुरा गर्दा निर्माता मणिराम पोखरेलले अनविज्ञता प्रकट गरे । उनले भनेका छन्, ‘केहि टुक्रा मात्रै हालिएको होला, पुरै फिल्म पाइरेसी भएको निर्माण टिमलाई जानकारीमा छैन ।’ डिजिटल अधिकार प्राप्त कम्पनि ओएसआर डिजिटलको तर्फबाट निर्माण भएको ‘भिडियो पसल’ नामको एप्लिकेशनको ‘ट्याग’ सहितको फाइल फेसबुकमा आएको छ ।
फिल्मीनेपालसँगको कुराकानीमा ओएसआरका तर्फबाट रुपेन्द्र खड्गीले फिल्म कसरी पाइरेसी भयो भन्ने बारेमा अनुसन्धान चलिरहेको बताए । एप्लिकेशन प्रयोगकर्ताले स्कृन रेकर्ड गरेर अपलोड भएको हुनसक्ने उनको दाबी छ । भिडियो पसलमा दुई हप्ता पहिले फिल्म भिडियो पसलमा अपलोड गरिएको उनले बताए । गत असोज ३ गते प्रदर्शनमा आएको फिल्म वक्सअफिसमा हिट लिस्टमा छ । दयाहाङ राई, विजय बराल, उपासनासिंह ठकुरी, कर्मा शाक्य लगायत यो फिल्ममा लिड अभिनयमा छन् ।
समाचार प्रमाणको लागी मात्रै फिल्मको स्कृनसट समाचारमा प्रयोग गरिएको होः सम्पादक