राजधानीमा ‘दि कर्मा’को च्यारिटी शो, कस्तो आयो दर्शक प्रतिक्रिया ?
शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘दि कर्मा’ निर्माण टिमले रिलिजको पुर्व सन्ध्यामा ‘च्यारिटी शो’ सम्पन्न गरेको छ । मंगलवार राजधानीमा नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ शो आयोजना गरियो । उक्त प्रदर्शनीबाट संकलित सम्पूर्ण रकम कलाकार संघलाई प्रदान गरिएको निर्माता जय राज रायले बताए ।
कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले च्यारिटीको लागि हलमा रिलिज नहुँदै फिल्म प्रदर्शन गरेर सहयोग गरेकोमा कलाकार संघ सदैव आभारी रहने बताए । फिल्म हेरिसकेपछि अभिनेत्री परमिता आर.एल. राना तथा अभिनेता बुद्दी तामाङले दर्शकबाट प्रतिक्रिया लिएका थिए । रानाले आफ्नो कामलाई प्रसंशा गरेकोमा सबैलाई धन्यवाद दिईन् ।
अभिनेता तामाङले पनि राम्रो प्रतिक्रियाले खुशी लागेको बताए । ठट्यौली शैलीमा उनले भने, ‘चलचित्र हेर्नेहरुले मेरो र चलचित्रको तारिफ गरिदिँदा म मख्ख नपरेर को पर्छ त ? छिमेकी ?’ तामाङले आफुले भन्नु भन्दा पनि दर्शकले कसरी लिनुहुन्छ भन्ने मूख्य कुरा रहेको साथै ‘दि कर्मा’ दर्शकलाई मन पर्नेमा विश्वास पोखे ।
निर्देशक देव कुमार श्रेष्ठले कलाकार संघलाई चलचित्र मार्फत सहयोग गर्न पाउनु पनि निकै गर्वको कुरा भएको बताए । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।
फिल्ममा परमिता, बुद्दी, जयसँगै करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, संगीता नापित, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद सुशिल पोखरेलको हो । फिल्ममा रामेश्वर कार्कीको छायांकन छ ।