चलचित्र संघमा आलोपालो नेतृत्व, अध्यक्षमा मधुसुधन सर्वसम्मत
हल सञ्चालक तथा वितरतकहरुको साझा संस्था नेपाल चलचित्र संघको ४६ औं वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार राजधानीमा सम्पन्न चुनावी साधारणसभाले मधुसुदन प्रधानलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
प्रदिपकुमार उदय नेतृत्वको अघिल्लो कार्यसमितिमा द्वितिय उपाध्यक्ष रहेका प्रधान सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । नेतृत्वको लागी प्रथम उपाध्यक्ष रहेका विरेन्द्र नारायण श्रेष्ठ र प्रधानको चर्चा थियो । तर कार्यक्रममा उपस्थित तीन पुर्व अध्यक्षहरुको पहलमा दुबै जनाले तीन वर्षको कार्यकाल (आधा-आधा) आलोपालो गरी पुरा गर्ने सहमति भएपछि पहिलो डेढ वर्षलाई प्रधान अध्यक्ष चुनिए । उनले अबको डेढ वर्षपछि नेतृत्व श्रेष्ठलाई प्रदान गर्नेछन् ।
यस्तै साधारणसभाबाट १३ जना सदस्य निर्विरोध चयन भएका छन् । अब संघको पहिलो बैठकले हाल चुनिएका सदस्यहरुबाट सहमतिमा कार्य विभाजन गर्नेछ । निर्विरोध चयन हुने सदस्यहरुमा अशोक शर्मा, गोपालकाजी कायस्थ, भाष्कर ढुङ्गाना, अर्जुन श्रेष्ठ, गोविन्द बहादुर शाही, कपिलप्रसाद द्वा, विक्रम पराजुली, देवेन्द्र खड्गी, कुबेर शर्मा, निरज कार्की, कैलाश ढकाल, त्रिरत्न मानन्धर, निरज गुप्ता छन् ।
यस्तै पुर्वाञ्चल सभापतिमा चैतन्य बराल, मध्यसुदुर पश्चिम सभापतिमा डा. सिंह गुरुङ, पश्चिमाञ्चल सभापतिमा ओम जैसी र उपत्यका सभापतिमा मदनमान बज्राचार्य चयन भएका छन् ।
यसअघि साधारणसभाको उद्घाटन सत्रमा सञ्चारमन्त्री गोकुल बांस्कोटा, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिका मेयर विधासुन्दर शाक्य लगायत चलचित्रसँग सम्वद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । २०१३ सालमा स्थापना भएको चलचित्र संघ चलचित्र क्षेत्रको सबैभन्दा जेठो हो ।
तश्विर श्रोतः गोपाल कायस्थको फेसबुकबाट