शैली थिएटरमा ‘विवाहको प्रस्ताव’ !
शैली थिएटर रातोपुलमा चर्चित रुसी साहित्यकार एन्टोन चेखबको एकाङ्की नाटक ‘विवाहको प्रस्ताव’ (द म्यारिज प्रपोजल) मञ्चन हुने भएको छ । पौष १८ देखि मञ्चन हुने यो नाटकमा बिहेसँग जोडिएको सरल कथावस्तुलाई हाँस्यास्पद अवस्था सृजना गरी सामाजिक चाल चलनमाथि तिखो व्यङ्गय गरिएको छ ।
७० वर्षकी वृद्धा स्टिपान स्टेपानोभिजकी छोरी नतालियासँग ३५ वर्षे छिमेकी इभान भ्यासिलिचको बिहेको प्रस्तावमा वरिपरि नाटक केन्द्रित छ । मनभित्र एउटा र बाहिर अर्कै देखाउने उद्देश्यका साथ पात्रहरू मञ्चमा देखिन्छन्। यसरी नक्कली काम गर्दा उनीहरुको असली चरित्र बीचबीचमा उदांगो हुन्छ, र यसले नाटकमा हाँसो सिर्जना गर्छ। ती पात्रहरु कहिले जमिनको विवादमा अल्झिन्छ त कहिले कसको कुकुर भन्ने कुरामा झगडा गर्छन् । यसले बिहेको प्रस्ताव स्वीकार्य होला कि नहोला भन्ने अवस्थामा नाटकले गति लिन्छ ।
मुख्य कलाकार सशांक बोहोराले इभान, स्नेहा पौडेलले नतालिया र सुबास सुबेदीले स्टेपान स्टेपानोभिचको भूमिका निर्वाह गर्नेछन्। कोरसमा मास्क लगाएर वा गाउँलेको भूमिकामा देबेन्द्र बब्लु, भारती रिजाल, रोबिन तामाङ, बिशाल घिमिरे, दिप्ती पौडेल, निर्भिक भट्टराई, रुपक काफ्ले र सन्तोष बराइलीले काम गरेका छन ।
नवराज बुढाथोकीको निर्देशन रहने नाटकमा देवेन्द्र बब्लुको संगीत रहनेछ । चेखबको नाटकलाई सविन न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् ।