मण्डलामा ‘झोला हराएको मान्छे’
शहरमा ठुला ठुला मल्टिप्लेक्स हलसँगै सिनेमा घरको संख्या बृद्धि भइरहँदा नाट्य थियटरहरुको प्रभाव पनि उत्तिकै छ । नेपाली रङ्गमञ्चहरुमा पछिल्लो पुस्ताको आकर्षण दिनहुँ बढ्दो हुँदा यो क्षेत्रसँग जोडिएर लाभ लिनेहरुले सधैँ सन्तुष्टिका शब्दहरु व्यक्त गरिरहन्छन् ।बरु फिल्मसँग जोडिनेहरुमा यो प्रकारको सन्तुष्टि देखिँदैन ।
राजधानीको अनामनगरमा अवस्थित मण्डला नाटक घर पछिल्लो क्रमको अनि पछिल्लो पुस्ताको सर्वाधिक आकर्षण रहने नाटक घर हो । यहाँ मञ्चन हुने प्रायः नाटक सफल हुन्छन्, उल्लेख्य दर्शकको नजरमा पर्छन् । हरेक महिनाजसो फरक फरक परिवेश, विधा र संस्कृति झल्किने नाटक प्रस्तुत हुने यो नाटकघरमा यतिबेला ‘झोला हराएको मान्छे’ मञ्चन भइरहेको छ ।
दीपेन्द्र शाहीको निर्देशन रहेको ‘झोला हराएको मान्छे’ले पारिवारिक बाध्यताकाबीच परिवारबाट टाढा भइ कामको लागी विदेश यात्रामा निस्किन लागेको पुर्वी नेपालको एक युवक राजधानी आउँदा सोहि दिन उभिएकै ठाउँबाट ‘झोला’ हराएपछि उत्पन्न परिस्थितीलाई जोडेको छ । नाटकले झोलामा सपना बोकेर विदेशिन बाध्य तमाम युवाहरुको मनोदशालाई इंगीत गरेको छ ।
नाटकले आर्थिक अवस्था कमजोर भएको गाउँले पृष्ठभुमीको एक युवक आफन्त बिहिन शहरमा पुग्दा के-कस्तो जीवन भोग्छ, पेट पाल्नकै लागी कस्तो संघर्ष गर्न बाध्य हुन्छ भन्ने कुरालाई यथार्थ चित्रण गरेको छ । युवा कलाकार र प्राविधिकहरुको बाहुल्यता रहेको नाटकमा सबै कलाकारहरुले लोभलाग्दो प्रस्तुति पस्केका छन् । सानो कथाभित्र विभिन्न प्लटहरु जोड्दै दर्शकलाई डेढ घण्टासम्म आँखा चिम्म गर्नसम्म नदिन निर्देशक सफल छन् ।
‘झोला हराएको मान्छे’ भित्र दर्शकले विभिन्न पात्रहरुमा कलाकारहरु चन्द्र नेपाली, विकाश लााम, सुनिशा बजगाई, सन्जीत प्रताप मल्ल, सविना थापा, नविनचन्द्र अर्याल, गणेश पौडेल, जयराम ढकाल, स्लिम जीवन, मणिराज पौडेल, विशाल श्री, आनन्द महत, मोहन राई, अरुण सिंह पौडेल र संजीव योगीलाई भेट्नेछन् । क्ल्याप मोसन पिक्चर्स र एम. टि. स्टोम्याक क्रियशनको व्यवस्थापनमा तयार यो नाटकको प्रस्तुतिकरण नेपालबाट लोपोन्मुख हुँदै गइरहेको लज्जावती झारमा आधारित छ ।
तश्विर श्रोतः मण्डला थियटर फेसबुक पेज (दिलजङ्ग गुरुङ)