Logo

कस्तो छ आर्यन स्टारर ‘च च हुई’ ?

शुक्रबारबाट फिल्म ‘च च हुई’ प्रदर्शनमा आएको छ । चकलेटी अभिनेताको ट्याग पाएका आर्यन पहिलो पटक कमेडी जनराको फिल्ममा देखिएका छन् । देशभर एकसाथ रिलिज भएको फिल्मको सुरुवाती बिजनेस सन्तोषजनक मात्रै छ ।

फिल्म रिलिजको पहिलो दिन निर्माण टिमले राजधानीमा ‘प्रेस शो’ आयोजना गर्यो । जहाँ सञ्चारकर्मीदेखि विभिन्न फिल्मकर्मीहरु उपस्थित रहे फिल्म हेरे । फिल्म हेरेपछि उपस्थित दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । फिल्म हेर्ने दर्शकले कथा प्रस्तुतिलाई भन्दा बढि सिनेमाटोग्राफी र सम्पादनलाई रुचाएका छन् ।

कलाकारहरुको प्रस्तुति औसत छ । कमेडीमा भोलाराज सापकोटा तारिफयोग्य कामका पात्र छन् भने माओत्से गुरुङको अभिनय अन्य फिल्ममा जस्तो देखिँदैन । मिरुनाले आफ्नो काममा अब्बलता पोखेकी छिन् ।

‘शो’ मा उपस्थित कलाकार बिराज भट्ट, दीपाश्री निरौंला, जितु नेपाल, केदार घिमिरेले आर्यनलाई लभस्टोरीपछि पहिलोपटक कमेडीमा देख्दा रमाइलो लागेको बताए । मुस्ताङ र हङकङका रमणिय दृश्यले मन लोभ्याएको अधिकांश दर्शकको भनाइ थियो । यद्धपि निर्देशक साम्तेन भुटियाको काममा भने धेरैले सन्तुष्टि पोख्न सकेनन् । फिल्म पात्रको पछि-पछि मात्र अघि बढ्दा कथाले कति लिन सकेको देखिँदैन ।

आर्यनसँगै यो फिल्ममा मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ पुश्कर गुरुङ लिड रोलमा छन् । २ करोड बजेटको भनिएको फिल्मप्रति दर्शकको साथ कस्तो रहन्छ त्यो भने शनिबारसम्मको इनिसियल बिजनेसले बताउनेछ ।

Comments