‘च च हुई’ का विन्दास प्रेम !
लामो समयसम्म लभस्टोरी जनरामा रमाइरहेका अभिनेता आर्यन सिग्देल यो पटक कमेडी जनरामार्फत पर्दामा आउँदैछन् । यो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘च च हुई’मा आर्यनको फरक अभिनय कला दर्शकले पाउनेछन् । फरक जनरामा काम गर्दा उत्साहित देखिएका आर्यन फिल्मबाट आशावादी पनि उत्तिकै छन् ।
प्रदर्शनको केहि दिन बाँकी हुँदा निर्माण टिमले कलाकारहरुको पात्र चित्रण खुलाएको छ । फिल्मभित्र आर्यन ‘प्रेम’ नामको पात्रमा देखिँदा नेपालबाट सानै उमेरमा हङकङ पुगेको मोजमस्तीमा रमाउने क्यारेक्टरमा देखिनेछन् । जीवन र कामप्रति गम्भिर नबन्ने बीना उद्देश्यको जीवन जिउँदै आएको पात्रमा उनलाई देख्न सकिनेछ ।
तर परिस्थितिबस नेपाल फर्केपछि आउने परिवर्तनबाट आर्यनको जीवनले नयाँ मोड लिने बताइएको छ । यद्धपी यसपछि आर्यनको भुमिका के रहन्स सस्पेन्स छ । नेपाल आएपश्चात उनले ‘संगीता’ पात्र निभाएकी अभिनेत्री मिरुना मगरलाई भेट्नेछन् त्यसपछि क्यारेक्टरले नयाँ मोड लिने पक्का छ ।
साम्तेन भुटियाको निर्देशनमा बनेको फिल्ममा भोलाराज सापकोटा र माओत्से गुरुङलाई पनि लिड अभिनयमा देख्न सकिनेछ । फिल्मलाई उपत्यकामा करण क्रेजी श्रेष्ठको रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ ।