Logo

हमालको साथमा ‘सप्तरंग २’, सातै प्रदेशको कार्यक्रम तय

महानायक राजेश हमालसहितका सात कलाकार सम्मिलित कार्यक्रम ‘सप्तरंग २’ को तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो सिजनको सफलतापछि आयोजक संस्था गृष्मा ब्रोडकास्टिङको तर्फबाट दोश्रो सिजनको रुपमा हुन लागेको यो कार्यक्रम यहि कार्तिक २० गतेबाट सुरु हुनेछ ।

‘भ्रमण बर्ष २०२०’ लक्षित कार्यक्रम पहिलो दिन विर्तामोडमा हुनेछ । ‘सातै प्रदेश सप्तरङ्ग’ नाममा हुन लागेको कार्यक्रम १ नं प्रदेश विर्तामोडमा सकिएपछि बिरगञ्ज, चितवन, पोखरा, नेपालगञ्ज, सुर्खेत र महेन्द्रनगरसम्म हुनेछ । सम्बन्धित स्थानको लागी आयोजकले बिरगञ्जलाई २२ गते, चितवनलाई २४ गते, नेपालगञ्जलाई २६ गते, सुर्खेतलाई २८ गते, ३० गते महेन्द्रनगर र अन्तिममा मंसिर ४ गतेलाई पोखराको समय तय गरेको छ ।

दोस्रो सिजनमा महानायक राजेश हमालसँगै गायक सुगम पोखरेल, हाँस्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओढ प्रस्तुतिको लागी तयार छन् । आयोजित प्रेस भेटघाटमा कार्यक्रमको सम्पुर्ण तयारी सकिएको आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए ।

‘पहिलो सिजनमा सात प्रदेशबीचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिनेछ’, घिमिरेले भने । घिमिरेले यसपटक नेपाल सरकारको अभियान ‘भ्रमण बर्ष २०२०’ लाई कार्यक्रमले टेवा पुर्याउने बताए । ‘राष्ट्रियताको कुनै मुल्य हुदैन भन्ने’ सोचका साथ कार्यक्रमलाई निःशुल्क गरिएको समेत उनले बताए । पहिलो शृंखलामा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ ।

https://youtu.be/rXeCAoyh3sQ

Comments